आजदेखि दोस्रो बजारमा ५ लाखभन्दा बढीको सेयर किनबेच गर्दा प्यान अनिवार्य
काठमाडौं । आज अर्थात् बैशाख २ गतेदेखि दोस्रो बजारमा सेयर किनबेच गर्दा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लाग्ने भएको छ ।
धितोपत्र बोर्डले एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गरेको हो ।
५लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।
अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशन अनुसार तथा लगानीकर्ताहरु एंव अन्य सरोकारवालाको सुझाव अनुसार दोस्रो बजारको कारोबारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने बोर्डको अपेक्षा छ ।
सरकारले चालु आर्थिक बर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो ।
प्यान लाग्ने भएपछि लगानीकर्ताहरुमा केही अन्यौलको स्थिति सिर्जना भएको छ । बजार घटिरहेका बेला प्यान लगाउँदा निरुत्साहित हुने लगानीकर्ताहरुले बताउँदैछन् ।