वैशाख भित्रै जोडिदैछ राष्ट्रिय प्रसारणमा १०० मेगावाट विद्युत



काठमाडौं । नयाँ वर्ष २०७६ आजदेखि सुरु भएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा नै केही सकारात्मक र खुसीका खबरहरु आइरहेका थिए ।

यसै क्रममा मकवानपुरमा आयोजान स्थल रहेको कूल २२ मेगावाट क्षमताको वागमती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

माण्डु हाइड्रो पावर कम्पनीले मकवानपुरमा निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो । हाल आयोजनाले ६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै मकवानपुरमा नै निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको सुरुङमा पानी परीक्षणको काम सुरु भएको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको पनि छिट्टै परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सो आयोजना लामो समयदेखि विवादमा परेको आयोजना हो ।

पछिल्लो समय सो आयोजना प्रगति भएपछि उत्पादनको क्रममा पुगेको हो ।

यस्तै नुवाकोटमा आयोजना स्थल रहेको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको विद्युत समेत उत्पादनको तयारीमा रहेको छ । यही वैशाखको दोस्रो साता परीक्षण उत्पादन सुरु हुने प्राधिकरणले जनाएको छ ।

कुलेखानी र माथिल्लो त्रिशुली थ्री बी लामो समयदेखि समस्यामा परेका आयोजना हुन् । पछिल्लो समय प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सकारात्मक पहल पछि ती आयोजनाले गति लिएका हुन् ।


क्लिकमान्डु