सिंहदरबारभित्र एभरेष्ट बैंकको मोनोपोली तोडियो, राष्ट्रिय वाणिज्य बैंकले कारोबार थाल्यो
काठमाडौं । भारतीय पञ्जाव नेशनल बैंकको समेत लगानी रहेको निजी क्षेत्रको एकाधिकार तोड्दै पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कारोबार शुरु गरेको छ ।
लामो समयदेखि सिंहदरबारभित्र एभरेष्ट बैंकले मात्रै कारोबार गर्दै आएको थियो । सांसद तथा मन्त्री र कर्मचारीहरुले तलब भत्ता पनि एभरेष्ट बैंकमार्फत नै बुझ्दै आएका थिए ।
गोप्य सूचना लिक हुनसक्ने भन्दै एभरेष्ट बैंकलाई हटाएर सरकारी स्वामित्वको बैंक राख्नुपर्ने सांसदहरुले नै माग गर्दै आएका थिए । सांसदहरुको सोही माग सम्बोधन गर्दै सरकारले सरकारी बैंकलाई सिंहदरबार प्रवेश गराएको हो ।
यसै सातादेखि वाणिज्य बैंकले सिंहदरबार भित्र शाखा स्थापना गरेर कारोबार शुरु गरिसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
‘हामीले सिंहदरबारभित्र शाखा स्थापना गरेर कारोबार शुरु गरिसकेको छौं,’ सीइओ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘बैशाख १ गते औपचारिक उदघाटन गर्ने तयारी छ ।’
वाणिज्य बैंकले सिंहदरबार भित्र केन्द्रिय सर्भर रहेको भवमा शाखा स्थापना गरेको हो । एभरेष्ट बैंकको शाखा पनि त्यही भवनमा छ ।
सरकारले सिंहदरबारमा सरकारी बैंक स्थापना गरेसँगै एभरेष्ट बैंक विस्थापित हुनसक्ने अनुमान गरिएको छ ।