बैंकका ग्राहकः निक्षेप राख्ने अढाई करोड, ऋण लिने साढे १३ लाख
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जा लिनेभन्दा निक्षेप राख्नेहरुको संख्या १९ गुणाले बढी देखिएको छ । राष्ट्र बैंकले सार्वजानिक गरेको माघ महिनासम्मको तथ्यांकमा यस्तो देखिएको हो ।
राष्ट्र बैंकका अनुसार २०७५ माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा २ करोड ५६ लाख ५८ हजार ३ सय ३७ वटा निक्षेप खाता खोलिएका छन् भने १३ लाख ६० हजार ३ सय १४ वटा ऋण खाता खोलिएका छन् ।
कूल निक्षेप खातामध्ये सबैभन्दा बढी वाणिज्य बैंकहरुले खोलेका छन् । वाणिज्य बैंकहरुले २ करोड ९ लाख ७८ हजार २ सय ६१ वटा निक्षेप खाता खोलेका छन् भने विकास बैंकहरुले ४१ लाख २७ हजार ८ सय १८ वटा निक्षेप खाता खोलेका छन् ।
त्यसैगरी, फाइनान्स कम्पनीहरुले ५ लाख ५२ हजार ३ सय वटा निक्षेप खाता खोलेका छन् ।
ऋण लिनेहरुको संख्या पनि वाणिज्य बैंकमै धेरै छ । माघ मसान्तसम्ममा वाणिज्य बैंकहरुमा ९ लाख ८७ हजार ९ सय ४२ वटा ऋण खाता खोलिएका छन् ।
त्यसैगरी, विकास बैंकमा ३ लाख ३१ हजार २ सय ३३ वटा र फाइनान्स कम्पनीहरुमा ४१ हजार १ सय ३९ वटा ऋण खाता खोलिएका छन् ।
क्रेडिट कार्ड लिनेहरुको संख्या १ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । क्रेडिट कार्डको सुविधा वाणिज्य बैंकहरुले मात्रै दिँदै आएका छन् ।
माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको संख्या ४ हजार ७ सय १ वटा पुगेको छ ।
मोवाइल बैंकिको कारोबार गर्ने ग्राहकको संख्या ६३ लाख ९४ हजार ९ सय १६ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको कूल निक्षेप ३१ खर्ब ११ अर्ब र कूल कर्जा २७ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।