लगानी सम्मेलनपछि किन बढ्दैछ सेयर बजार ?



काठमाडौं । एक हप्ताअघि सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेको थियो । लगानी सम्मेलन अघिसम्म सेयर बजार घटेको भन्दै लगानीकर्ताहरु विभिन्न सुधारका माग राख्दै आन्दोलनमा थिए ।

आफूहरुको आन्दोलनले लगानी सम्मेलनम नकरात्मक सन्देश जाने निष्कर्श निकाल्दै लगानीकर्ताहरुले घोषित आन्दोलन पनि फिर्ता गरे ।

चैत १५ र १६ गते सरकारले आयोजना गरेको लगानी सम्मेलन भव्य भयो । करीब ७ सय विदेशी लगानीकर्ताहरु सम्मेलनमा सहभागी भए । सरकार र निजी क्षेत्रले शोकेश गरेका ७७ आयोजनामध्ये १५ अयोजनामा लगानी गर्ने सम्झौता पनि भयो ।

लगानी सम्मेलनअघि घट्दो ट्रेन्डमा रहेको सेयर बजार त्यसयता भने लगातार बढेको छ । साताभरी नै नेप्से सूचक बढिरह्यो । आइतबार ११४३ अंकमा रहेको नेप्से सूचक बिहीबार ११६५ अंकमा पुग्यो । यो साता नेप्से २२ अंकले बढेको छ ।

लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनेको सन्देश गएकाले पनि लगानीकर्ताहरुको मनोवल केही बढेको हुनसक्ने अनुमान गरिएको छ ।

‘मुलुकमा लगानीको वातावरण बन्यो भने आर्थिक क्रियाकलाप पनि बढ्छन् । र, आर्थिक क्रियाकलाप बढेपछि अर्थतन्त्रको ऐना मानिने सेयर बजार पनि बढ्छ,’ एक विश्लेषकले क्लिकमाण्डूसँग भने, ‘लगानी सम्मेलनले केही सकरात्मक सन्देश गएको छ । यति छिटै लगानी सम्मेलनको प्रभावले सेयर बजार बढ्यो भनेर विश्लेषण गरिहाल्न त हतार हुन्छ । तर, सकरात्मक प्रभावको बाछिटाचाहीँ पक्कै पनि मान्न सकिन्छ ।’

एक सातामै नेपाल स्टक एक्सचेञ्जमा विभिन्न ६ कम्पनीका १ करोड २ लाख ३५ हजार कित्ता सेयर थपिएका छन् ।

नेप्सेका अनुसार सिद्धार्थ बैंकको ४२ लाख ३२ हजार १ सय ९२, सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख २ हजार ५ सय ५४, सिन्धु विकास बैंकको २ लाख ८० हजार ८ सय ८ र समता माइक्रोफाइनान्सको ३७ हजार ९ सय २ कित्ता बोनस सेयर सूचिकृत भएका हुन् ।

त्यसैगरी, आइएमइ जनरल इन्स्योरेन्सको ४३ लाख २० हजार र लुम्बीनी विकास बैंकको ३ लाख ६२ हजार ४ सय ३६ कित्ता हकप्रद सेयर सूचिकृत भएका हुन् ।

साताभरमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भयो । एनआइसी एशियाको १ अर्ब ६० करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

त्यसैगरी, १ अर्ब १५ करोड ९० लाख रुपैयाँ कारोबार भएर एनसीसी बैंक दोस्रो स्थानमा रह्यो ।

अरु कम्पनीको कारोबार १ अर्बभन्दा तल नै रह्यो । नेप्सेका अनुसार प्रभुको ८५ करोड, एनएमबिको ८३ करोड, नेपाल बैंकको ७७ करोड, सिभिल बैंकको ६१ करोड, एनबी बैंकको ५८ करोड, एभरेष्ट बैंकको ५७ करोड, माछापुच्छ्रे बैंकको साढे ५६ करोड र प्राइम बैंकको साढे ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।


पुष्प दुलाल