बैंकहरुको १ महिना: ‘जति निक्षेप त्यति नै ऋण’, अन्तर बैंक कारोबारको ब्याज साढे ६% सम्म



काठमाडौं । बैंकहरुले निक्षेप संकलन गरेपति कर्जा प्रवाह गरेका छन् । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुले ९ अर्ब रुपैयाँले निक्षेप बढाएर ९ अर्ब रुपैयाँ नै कर्जा बढाएका छन् ।

आर्थिक वर्षको शुरुदेखि नै कर्जा योग्य पुँजी (तरलता) अभावको चरम मारमा परेका बैंकहरुले लामो समयसम्म निक्षेपभन्दा बढी कर्जा प्रवाह गर्दै आएका थिए । जसकारण निक्षेप र कर्जा बीचको असन्तुलन अत्याधिक बढ्न गई कर्जा-पुँजी-निक्षेप अ नुपात (सीसीडी रेसियो) मेन्टेन गर्न कठिन भएको थियो ।

सीसीडी मेन्टेन गर्न नसकेका कारण कतिपय बैंकलाई राष्ट्र बैंकले कारबाहीसमेत गरेको थियो । सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको व्यवस्था छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक महिनामा बैंकहरुको निक्षेप संकलन र कर्जा प्रबाह बराब छ ।

गत फागुन १७ गते बैंकहरुले २६ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा दिएका थिए भने फागुन २६ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा दिएका थिए ।

त्यसैगरी, चैत १ गतेसम्ममा बैंकहरुले २६ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा दिएका थिए । अघिल्लो हप्ता निक्षेप घटेपछि बैंकहरुले पछिल्लो हप्ता कर्जा ठप्प पारेका हुन् ।

त्यसपछिको हप्ता फेरि बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घट्यो । तर, कर्जा भने २ अर्ब रुपैयाँले बढेयो । राष्ट्र बैंकका अनुुसार चैत ८ गतेसम्ममा बैंकहरुले २६ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

पछिल्लो साता भने बैंकहरुको निक्षेप र कर्जा दुबै बढेको छ । चैत १५ सम्ममा बैंकहरुले २६ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

कतिपय बैंकहरुले सीसीडी टाइट भएपछि अर्को बैंकसँग ऋण लिएर सीसीडी मेन्टेन गरिरहेका छन् । जसकारण अन्तर बैंक कारोबारको ब्याजदर अहिले पनि उच्च छ ।

बैंकरहरुका अनुसार अहिले पनि सीसीडी मेन्टेन गर्ने उद्देश्यले दिइने अन्तर बैंक सापटी कारोबारका ब्याजदर साढे ६ प्रतिशतको हाराहारीमा छ भने सीआरआर मेन्टेन गर्ने उद्देश्यले लिइने अन्तर बैंक सापटी कारोबारको ब्याजदर साढे ४ प्रतिशतको हाराहारीमा छ ।

यो तथ्यांकले अहिले पनि बैंकहरु सहज अवस्थामा नरहेको देखाउँछ ।


पुष्प दुलाल