कोदोमा पनि परनिर्भर



विराटनगर । घरेलु उत्पादन तोङ्बा, छ्याङ र निगार तथा ढिँडोको मुख्य कच्चा पर्दाथ रहेको कोदोमा पनि मुलुक आत्मनिर्भर बन्न नसकेको पछिल्लो तथ्याङले देखाएको छ । खासगरी पूर्वीपहाडमा उत्पादन गरिने यस्ता घरेलु मदिराको मुख्य कच्चा पदार्थ कोदो भने भारतबाट आयात गरिँदै आएको छ ।

पहाडी क्षेत्रमा बेरोजगारीका कारण बढ्दो बैदेशिक पलायनले कोदोबालीको खेती कम हुदा मुलुकमा आवश्यक पर्ने कोदोको उत्पादन हुन नसकेको कृषि विज्ञहरुले बताएका छन् ।

पूर्वीनेपालका मुख्य दुई नाका विराटनगर र काँकडभिट्टा नाकाबाट कोदो आयात गरिदै आइएको छ । दुई नाकामध्ये काँकडभिट्टा नाकाबाट बढी मात्रामा कोदोको आयात भईरहेको तथ्याङले देखाएकोछ ।

चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा काँकडभिट्टा नाकाबाट १३ करोड २ लाख ५५ हजार मूल्यको ५ हजार १ सय ५१ टन कोदो आयात गरिउको छ । यसबाट ६५ लाख १२ हजार राजस्व प्राप्त भएको छ । सोही नाकाबाट अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा भने १९ करोड ५० लाख १० हजार मूल्यको ७ हजार ५ सय ४४ टन कोदो आयात भएको देखिन्छ ।

यस्तै विराटनगर नाकाबाट चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा ४ करोड ३३ लाख ३५ हजार मूल्यको १ हजार ५ सय ५२ टन कोदो आयात भईसकेको भन्सार कार्यालयले जनाएको छ । यसबाट २२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।

सो नाकाबाट गत आर्थिक वर्ष २०७४/७५ मा ४ करोड ८० लाख ५० हजार मूल्यको १ हजार ५ सय ४४ टन कोदो आयात भएको कार्यालयले जनाएको छ ।

यो नाकाबाट २४ लाख ४३ हजार रुपैयाँ राजस्व सकंलन गरिएको छ । कोदोको आयातमा भन्सार कार्यालयले मूल्यको ५ प्रतिशत कृषि सुधार शुल्क असुल गर्दै आएको छ ।


पुष्प दुलाल