भारतसँग रेलका डब्बा किन्न ओली सरकारले साढे ८४ करोड रुपैयाँ दियो



काठमाडौं । सरकारले भारतसँग रेलका दुई वटा डब्बा किन्नका लागि रेल विभागलाई ८५ करोड ६५ लाख ९५ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भारतीय सरकारी कम्पनी कोन्कान रेलवेज कर्पोरेसन लिमिटेडमार्फत जिटुजी प्रक्रियामार्फत दुई डेमु रेल खरिद गर्नका लागि बजेट स्वीकृत गरिएको जानकारी दिए ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न भइसकेको छ । उक्त मार्गमा आगामी जेठदेखि रेल सञ्चालनको तयारी भइरहेको छ ।

रेलमार्गको दुरी छोटो भएकाले अत्याधुनिक सुविधा तत्कालका लागि नचाहिने निष्कर्षमा विभाग पुगेको छ । अत्याधुनिक सुविधा जडान गर्दा थप बढी मूल्य पर्न जान्छ ।

हाल सञ्चालनमा ल्याउन लागिएको रेल प्रतिघण्टा १ सय ६० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ ।

विभागकाअनुसार भारतीय पक्षसँग सम्झौता भएको ९० दिन भित्र रेल ल्याउन सकिन्छ । भारतीय पक्षले सो समयभित्र रेल उपलब्ध गराउन सकिने बताएको छ ।

विगतमा पनि जनकपुर जयनगरमा रेल सञ्चालन हुने गर्दथ्यो । सो समयमा नेपालमा चल्ने रेल कोइलाबाट चल्थ्यो । हाल चलाउन लागिएको रेल डिजलबाट चलाउन लागिएको छ ।

नेपाली रेल चालकसँग न्यारोगेज रेल चलाएको मात्रै अनुभव भएकाले प्रशिक्षणको क्रममा भारतीय चालक ल्याएर उनीहरुबाट प्रशिक्षण दिने तयारी गरिएको छ । हाल निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।

पूर्ववर्ती कार्यतालिकाअनुसार यही पुस मसान्तसम्म उक्त रेलमार्गमा रेल चलाउने तयारी गरिएको थियो ।

तर परिक्षण, रेलको इन्जिन खरिदलगायतका काम बाँकी रहेका कारण जयनगर कुर्था रेलमार्गमा रेल चलाउने समय पछाडि सर्दै आएको थियो ।


पुष्प दुलाल