दुग्ध सहकारी संघले भन्यो- चिनियाँ गाई ल्याउनु हुँदैन



काठमाडौं । सरकारले चिनियाँ गाई ल्याउने भनेपछि किसानहरु दुःखी भएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले स्वदेशमा भएको गाईको व्यवस्थापन गर्न नसकेको अवस्थामा विदेशबाट गाई ल्याउने कुरा गर्नु गलत भएको बताएको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले स्वदेशमा भएको गाईको व्यवस्थापन उचित तरिकाले नहुदाँ जंगलमा छाड्ने अवस्थाको सिर्जना भइरहेको बताए ।

‘कृषिमा अनुदान पर्याप्त छैन जसले गर्दा गाई ब्याँउछ बच्चा पाल्न सक्ने स्थिति छैन, यस्तो अवस्थामा सरकारले विदेशी गाई ल्याएर के गर्ने ?’उनले प्रश्न गरे ।

उनले सरकारले दुग्ध क्षेत्रमा विदेशी प्रविधि ल्याउन सक्छ तर गाई ल्याउन नहुने बताए ।

प्रदेश नं २, ३ र ४ ले चीनियाँ गाईल्याउनको लागि चाइनिज कृषि यान्त्रिकीकरण विज्ञान एकेडेमी (क्याम्स) तथा चाइना क्याम्क इन्जिनियरिङ्ग कम्पनी (क्याम्सी) सँग गाई ओसारपसार गर्ने सम्झौता गरेको संघको भनाई छ ।

चीनसँग गाई ल्याउन भनेर सम्झौता गरेको छ । विदेशबाट गाई ल्याउने तथा डेरी क्षेत्रमा विदेशी लगानी भित्राउने कूरा दुग्घ क्षेत्रमा लागेका नागरिकको हित विपरित हुने अध्यक्ष देवकोटाले बताए ।

‘विदेशबाट गाई ल्याएर कृत्रिम गर्भाधान(ए.आइ) गरी ब्याउने बनाउने समयसम्म ८ लाख खर्च लाग्ने हुदाँ सो रकम सरकारले स्वदेशी कृषकलाई अनुदान दिएमा स्वदेश मै दुध उत्पादन बढ्ने निश्चित छ,’ उनले भने ।

सरकार कृषकलाई प्रोत्सहान गनुपर्नेमा विदेशबाट गाई ल्याएर निरुत्साहित गर्नतर्फ अग्रसर भएको उनले आरोप लगाए ।

‘विदेशबाट ल्याएको गाई बाँच्न/नबाँच्ने निश्चित हुदैन त्यसैले विदेशी होइन बरु विदेशबाट ब्रिड(बीउ )ल्याएर उन्नत जातको गाई उत्पादन गर्न सकिन्छ ,’ उनले भने ।

कृषकहरुलाई केहि मात्र राहत दिएमा दुग्ध क्षेत्रमा थप कृषक आर्कषित हुने संघको भाई छ । संघका अनुसार मुलुकमा विदेशी लगानीमा गाईलाई आवश्यक पर्ने घाँसको बीउ, दाना लगायतका उधोग खोल्न सकिनेछ ।

गाईलाई आवश्यक पर्ने दाना, उन्नत जातको घाँसको बीउ लगायतका सामग्री भारतबाट ल्याउनुु परेको छ, त्यसलाई रोक्नका लागि त्यस्ता उधोग विदेशी लगानीमा भएपनि स्थापना गर्न सकिन्छ ।

महासचिव रामप्रसाद आर्चायले सरकारले ३० लिटर दुध दिने गाई ल्याउनको लागि १ लाख ३० हजार खर्च गर्नुभन्दा सो रकम कृषकलाई अनुदान दिनुपर्ने बताए ।

हाल संसदमा पेश गर्न लागिएको विदेशी विधेयकमा पोल्ट्री बाहेक अन्य क्षेत्रमा विदेशी लगानी ल्याउन लागिएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने उनले बताए ।

‘कृषिजन्य तथा स्वदेशी उत्पादनले आत्मनिर्भर हुने वस्तुमा विदेशी लगानी ल्याउन हुदैन, वरु सरकारले उत्पादन बढाएर निर्यातर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।

विदेशी लगानी यस क्षेत्रमा आएमा स्वदेशी सहकारी तथा दुग्ध उधोगहरु बन्द हुने अवस्था आउनुको साथै विदेशीबाट नै दुध ल्याउने हुदाँ यहाँका किसानहरु यस क्षेत्रबाट विस्थापित हुनुपर्ने अवस्था आउने संघको भनाई छ ।

संघले गाईमा खोयोत्रो तथा थुनाली भएको कारण उत्पादित वस्तु अन्तराष्ट्रिय मापदण्ड नपाँउदा विदेश निर्यात हुन नसकेको भन्दै सरकारलाई यसतर्फ ध्यान दिन आग्रह गरे । यस्तै संघले चिनियाँ गाई ल्याउनबाट रोक्नका लागि कृषि, अर्थ र प्रधानमन्त्रीलाई भेट्ने बताएको छ ।


पुष्प दुलाल