ब्याजदर घटाउन बसेको बैठक सकियो, अर्थमन्त्रीले भने- नघटे १५ दिनपछि फेरि बसौंला



काठमाडौं । बैंकको ब्याजदर घटाउने उद्देश्यले अर्थमन्त्री डा. युवराज खतिवडाले राखेको छलफल सकिएको छ ।

दिउसो ३ बजेदेखि अर्थ मन्त्रालयमा शुरु भएको छलफल साँझ सवा ५ बजे सकिएको हो । ब्यवसायी र बैंकरबीच तीब्र आरोपप्रत्यारोप भएपछि छलफल लम्बिएको थियो ।

अर्थमन्त्री खतिवडाले बैंकर र व्यवसायीबीचको यो विवाद मिलाउन सरकार तयार रहेको बताए । सोमबार साँझ मौद्रिक नीतिको मध्यावधि समीक्षाको फाइनल हुने जानकारी दिँदै धेरै विषय मौद्रिक नीतिको समीक्षाले सम्बोधन गर्ने बताए ।

‘अर्थ मन्त्रालयले पनि धेरै कुरा हेर्छ, भरेभोलि नै मौद्रिक नीतिको मध्यावधि समीक्षा हुँदैछ, त्यसले तपाईंहका धेरै माग सम्बोध हुन्छन्,’ अर्थमन्त्रीले भने ।

बैंकर र व्यवसायी एक अर्काका परिपूरक भएको स्मरण गराउँदै आपसमै मिलेर समस्याको समाधान गर्नुपर्नेमा अर्थमन्त्रीले जोड दिएका थिए । यो विषय टुंग्याउन आवश्यक परे कमिटि गठन गर्ने र १५/१५ दिनमा समीक्षा बैठक गर्ने पनि अर्थमन्त्रीले जानकरी गराए ।

अर्थमन्त्रीले उद्योगी र बैंकर सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए ।

‘बसेर छलफल गर्दा समस्याको समाधान हुन्थ्यो उद्योगी साथीहरुले आन्दोलन गर्नै पर्दैन थियो,’ अर्थमन्त्रीको भनाई उदृत गर्दै अध्यक्ष ढुंगानाले क्लिमाण्डूसँग भने, ‘तपाईंहरु मिलेर समस्याको समाधान गरेको भए सरकारले चासो देखाउनु पर्ने नै थिएन ।’

बैंकहरुले पनि नाफा मात्रै हेरेर ब्याजदर महंगो बनाउन नहुने अर्थमन्त्रीको भनाई थियो ।

‘बैंकका साथीहरुले पनि अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन, देशको आवश्यकता उत्पादन बढाउनु हो, उत्पादनमूल उद्योगमा सस्तोमा कर्जा उपलब्ध गराउनु पर्यो,’ अर्थमन्त्रीको भनाई उदृत गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले क्लिकमाण्डूसँग भनिन् ।

अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले क्रमश बैंकहरुको स्प्रेडदर घटाउँदै लगेको पनि व्यवसायीहरुलाई जानकारी दिए । त्यसैगरी, बेस रेटमा रिभाइज गर्नुपर्ने अर्थमन्त्रीको भनाई थियो ।

‘बैंक होस् वा व्यवसायी कुनै एकमात्रै मोटाउने वा दुब्लाउने अवस्था आउनु हुँदैन,’ अर्थमन्त्रीले भने, ‘यसमा सरकार सचेत छ ।’

व्यवसायी चन्द्र ढकालले भने बैंकर र व्यवसायीबीचको विवाद मिलाउन मध्यस्तकर्ताको भूमिका खेलेका थिए ।


पुष्प दुलाल