अर्थमन्त्री साक्षी राखेर व्यवसायी र बैंकरबीच पोल खोलाखोल, आफ्नै खुट्टामा बञ्चरो



काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर नियन्त्रण गर्नुपर्ने भन्ने व्यवसायीको माग सम्बोधन गर्न राखेको छलफलमा बैंकर र ब्यवसायीबीच चर्काचर्की भइरहेको छ ।

अर्थमन्त्रीकै अघि व्यवसायीले बैंकको र बैंकरले व्यवसायीको पोल खोलाखोल गरेका छन् ।

बैंकर र व्यवसायीबीच केही घुमाउरा सम्बन्धहरु पनि हुन्छन् । एकअर्काबीच आरोप प्रत्यारोप गर्दा पोल खोलाखोल भएको छलफलमा सहभागी एक व्यवसायीले जानकारी दिए ।

व्यवसायीहरुले बैंकको चर्को विरोध गरेपछि बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरु पारदर्शी भएकाले त्यस्तो देखिएको जवाफ दिए ।

‘बैंकहरुको त एउटै वासलात हुन्छ र त्यस्तो देखिएको हो,’ ढुंगानाले भने, ‘व्यवसायीले जस्तो बैंकले दुई/तीनवटा बासलात बनाउन पाउँदैनन् ।’

ढुंगानाले यसो भनेपछि ब्यवसायीहरु झनै कडा रुपमा प्रस्तुत भए ।

बैंकर र व्यवसायीको चर्काचर्की हुन थालेपछि अर्थमन्त्री खतिवडा आफ्नो बैठक भएको भन्दै बाहिर निस्कन खोजेका थिए ।

अर्थमन्त्री बाहिरिएपछि होहल्ला भयो । त्यसपछि अर्थमन्त्री फर्किएर फेरि छलफलमा बसेका छन् ।

दिउासो ३ बजेदेखि अर्थ मन्त्रालयमा छलफल भइरहेको छ ।

छलफलमा अर्थमन्त्री, अर्थसचिव, गभर्नर, डेपुटी गभर्नर, बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की लगायत उपस्थित छन् । ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भनावनी राणा, उपाध्यक्ष चन्द्र ढकाल र किशोर प्रधान, बैंकिङ कमिटिका सौरभ ज्योति र गोपाल खनाल, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना उपस्थित छन् ।

त्यसैगरी, सीएनआइका अध्यक्ष हरिभक्त शर्मा, सीएनआइका बैंकिङ कमिटिका सभापति अनलराज भट्टराई, मोरङका व्यवसायीलगाययत उपस्थित छन् ।

खुट्टामा आफैं बञ्चरो

मोरङका व्यवसायीहरुले कर्जाको ब्याजदर ७ देखि ९ प्रतिशत राख्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएपछि गत शनिबार प्रधानमन्त्रीले वार्ताका लागि बोलाएका थिए । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई यो विषय मिलाउने जिम्मा दिएका थिए ।

मोरङका व्यवसायीको मागमा नेपाल उद्योग वाणिज्य महासंघले समर्थन गरेको छ ।

व्यवसायीहरु प्रधानमन्त्रीकहाँ गएर बैंकको ब्याजदर नियन्त्रण गर्नुपर्यो भन्दै पुगेपछि उद्योग वाणिज्य महासंघकै अधिकारीहरुले असन्तुष्टि जनाउन थालेका छन् ।

‘व्यवसायीहरुले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्दैछन्,’ एक व्यवसायीले भने, ‘सबैकुरा राज्यले नियन्त्रण गर्नुपर्छ भन्ने बिचारधाराको बाहुल्यता भएको बामपन्थी सरकारलाई बैंकको ब्याजदर निर्धारण गर्न उक्साउने कामले आफैंलाई राम्रो गर्दैन ।’

बाघले पल्लो घरको बाख्रो खायो भनेर रमाउँदा अर्कोदिन त्यही बाघले आफ्नो खोरको बाख्रो खाने भन्दै ती व्यवसायीले लगानीयोग्य पुँजीको सहजता बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।


पुष्प दुलाल