मेलम्चीमा डुबेको ८५ करोड फर्काउन बैंक अफ काठमाण्डूको टोली चीन पुग्यो



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी बस्दा फसेको ८५ करोड रुपैयाँ रकम फर्काउन बैंक अफ काठमाण्डूले विज्ञहरुको टोलीलाई चीन पठाएको छ ।

चिनियाँ अदालतमा यही फागुन ३ गते मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दाको सुनुवाइ हुँदैछ । त्यसका लागि बैंकले कानुनी परामर्शदाताहरुको टोली चीन पठाएको हो ।

मेलम्ची खानेपानी आयोजनाको तत्कालीन चिनियाँ ठेकेदार चाइना रेल्वे १५ ब्युरो ग्रुपको चाइना कन्सट्रक्सन बैंकमार्फत काउन्टर ग्यारेन्टी प्राप्त गरी उक्त काउन्टर ग्यारेन्टीको सुरक्षणमा बैंकले ६६ लाख २० हजार अमेरिकी डलर र १४ लाख युरो गरी ८५ करोड नेपाली रुपैयाँ बराबरको बराबरको ग्यारेन्टी जारी गरेको थियो ।

तर मेलम्ची र चिनियाँ ठेकेदार कम्पनीबीच करार सम्झौता भंगभएकाले उक्त ठेकेदार कम्पनीले हालेको रिट निवेदनको आधारमा चीनस्थित न्यायालयले चाइना कन्सट्रक्सन बैंकलाई काउन्टर ग्यारेन्टीको भुक्तानी बैंक अफ काठमाडूलाई दिन नपर्ने आदेश जारी गरेको थियो ।

अन्तर्राष्ट्रिय नियम र अभ्यासअनुसार चाइना कन्सट्रक्सन बैंकले बीओकेलाई जारी गरेको काउन्टर ग्यारेन्टी एउटा स्वतन्त्र र शर्तहीन दायित्व हो । जसअनुसार नेपालले उक्त ग्यारेन्टीको रकम काउन्टर ग्यारेन्टी सम्बन्धीको नियम र अभ्यास अन्र्तगत फिर्ता पाउने अधिकार राख्छ ।

चीनस्थित अदालतबाट काउन्टर ग्यारेन्टीको भुक्तानी स्थगन गरिँदा यसबाट नेपालको सर्वसाधारणको निक्षेपमा क्षतिपुगेको हुँदा यस मुद्दाप्रति नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारको आवश्यक सहयोग र समन्वयबाट उक्त गुमेको रकमफिर्ता गर्ने प्रक्रियाको सहजीकरण हुने देखिन्छ ।


पुष्प दुलाल