त्यस्तो नगरपालिका जसले १५ रुपैंया प्रति किलो प्लाष्टिकजन्य फोहोर किन्छ



काठमाडौ । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ ।

वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो १५ रुपैंयाका दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

प्लाष्टिक खरीद गर्न माघ एक गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर बेच्नका लागि कोही पनि नआएको नगरपालिकाले जनाएको छ ।

फोहर प्लाष्टिक किन्नका लागि नगरपालिकाले तुरुन्तै ठाउँ तोक्ने र प्रसारप्रचारलाई अगाडि बढाउने बताइएको छ । इलाम नगरपालिकाले विसं २०६७ देखि पोलिथिनको झोलामा भने प्रतिबन्ध लगाएको छ । पोलिथिन झोला भने नगरपालिकाले किन्दैन । खानेपानीको बोतल, खाद्य बस्तुको प्याकेजीङमा भएको प्लाष्टिक लगायतका प्याष्टिकजन्य फोहर खरीद गर्ने भएको हो ।

इलाम नगरपालिकामा दैनिक सात टन फोहर उत्पादन हुने गरेको एक अध्ययनले देखाएको छ । तीमध्ये करीब १० प्रतिशत प्लाष्टिजन्य फोहर हुने गरेको नगर प्रमुख बस्नेतको भनाइ छ । नगरपालिकाले खरीद गरेको फोहर स्टोर गरिने र यसलाई प्रशोधन गरेर पेट्रोलियम पदार्थ वा सडक पक्की गर्नमा प्रयोग गरिने अलकत्र बनाउने योजना नगरपालिकाको छ ।

सिसाजन्य फोहरमा भने प्रतिबन्ध लगाउने नगरपालिकाको तयारी छ । हाल नगरपालिकाले महीनाको दुई दिनमात्रै सिसाजन्य फोहर सङ्कलन गर्ने गरेको छ । रासस


पुष्प दुलाल