अर्थतन्त्र बिग्रिएपछि आत्तिए खतिवडाः कर्जा नियन्त्रणदेखि भन्सार बढाउने तयारी, अरु के के ?



काठमाडौं । अर्थतन्त्रको अवस्था दिनानूदिन कमजोर बन्दै गएपछि अर्थमन्त्री डा. युवराज खतिवडा आत्तिन थालेका छन् ।

अर्थमन्त्री भएको ५/६ महिनासम्म ब्यापार घाटादेखि डराउनु नहुने तर्क राख्दै आएका अर्थमन्त्री अहिले त्यही ब्यापार घाटा देखेर कहालिन थालेका छन् ।

‘मन्त्री हुनुवित्तिकै अर्थमन्त्रीज्यू अर्थतन्त्रलाई सजिलै ट्र्याकमा ल्याउँछु भन्नुहुन्थ्यो । तर, अहिले मुलुकको अर्थतन्त्रको अवस्था देखेर मन्त्रीज्यू निकै चिन्तित हुनु भएको छ, अत्तालिनु भएको छ,’ अर्थ मन्त्रालयको उच्च स्रोतले भन्यो, ‘आयात नरोके अर्थतन्त्र झनै खराब अवस्थामा पुग्ने मन्त्रीज्यूको निष्कर्श छ ।’

केही महिनाअघि सम्म अर्थमन्त्री खतिवडा सार्वजानिक रुपमै ब्यापारघाटाको डिफेन्स गर्थे ।

‘ब्यापार घाटा बढ्यो भन्दै केही साथीहरु अत्तालिनु भएको छ, अहिले भएको आयातले केही वर्षभित्र पुँजी निर्माण गर्छ र त्यसपछि अर्थतन्त्र ट्र्याकमा आउँछ, साथीहरुले यो एंगलले पनि हेरिदिनु पर्यो,’ खतिवडाले सार्वजानिक कार्यक्रमहरु भन्थे ।

दिनानूदिन अर्थतन्त्र कमजोर बन्दै जाँदा नेकपाभित्रै बाट अर्थमन्त्री खतिवडाको विरोध हुन थालेपछि उनी अत्तालिएका छन् ।

बढ्दो आयातले देशको भुक्तानी सन्तुलन लगातारजसो ऋणात्मक भएको छ । चालू आर्थिक वर्षको मंसिर महिनासम्म देशको भुक्तानी सन्तुलन ८५ अर्ब रुपैयाँले ऋणात्मक छ ।

निर्यात बढ्न सकेको छैन । तर, आयात बढेको बढ्यै छ । जसकारण यो आर्थिक वर्षको ५ महिनामा साढे साढे ३ खर्ब ब्यापार घाटा छ । चालू खाता १ खर्बले ऋणात्मक छ । विदेशी मुद्रा सञ्चिति पनि घटिरहेको छ ।

त्यतिमात्रै होइन, वैदेशिक लगानीको प्रतिवद्धता पनि घटेको छ । गत आर्थिक वर्षको ५ महिनामा १४ अर्ब विदेशी लगानी स्वीकृत भएकोमा यो आर्थिक वर्षको ५ महिना जम्मा १० अर्ब लगानीको प्रतिवद्धता मात्रै आएको छ ।

दिनानूदिन अर्थतन्त्र कमजोर बन्दै जाँदा नेकपाभित्रै बाट अर्थमन्त्री खतिवडाको विरोध हुन थालेपछि उनी अत्तालिएको स्रोतको दाबी छ ।

‘अर्थतन्त्र बुझेको मान्छे भनेर उहाँप्रति सबैले आशा गरे, कसैले पनि विरोध गरेनन् तर आर्थिक सूचकांकहरु झन कमजोर बन्दै गएपछि उहाँको आलोचना हुन थाल्यो,’ स्रोतले भन्यो, ‘आफ्नो आलोचना सुन्नै नसक्ने व्यक्तिलाई आलोचना सुन्नुपर्दा कस्तो हुन्छ ? हो, त्यस्तै भएको छ मन्त्रीज्यूलाई ।’

आयात रोकेर अर्थतन्त्रलाई जोगाउने निर्णय गर्न लागेको अर्थमन्त्री निकट स्रोतहरु बताउँछन् ।

‘नेपाल विश्व प्यापार संगठनको सदस्य भएकाले आयात रोक्न मिल्दैन, त्यसैले मन्त्रीज्यूले खासखास बस्नुहरुको आयातलाई निरुत्साहित गरेर आयात नियन्त्रण गर्ने नीति लिनु भएको छ,’ स्रोतले भन्यो ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण थालिसकेको छ । गाडी, सुनचाँदी, हिरा, मदिरा, कस्मेटिक्स, मोबाइललगायत विद्युतीय सामग्रीलगायतको आयातलाई निरुत्साहित गर्ने तयारी गरिरहेको छ । बजेटमार्फत यस्ता बस्तुको आयातमा भन्सार शुल्क बढाउने तयारी भइरहेको छ भने बजेटअघि आयात नियन्त्रण गर्न बैंक ऋणमा कडाइ गर्ने सोच छ ।

आयात निरुत्साहित गर्दा राजस्व कम उठ्छ । त्यसैले स्वदेशी उत्पादनमा पनि अन्तशुल्क लगाएर राजस्वलाई कम हुन नदिने अर्थन्त्रीको तयारी छ ।

राष्ट्र बैंकमार्फत् सरकारले निरुत्साहित गरेका वस्तुको आयातमा ऋण दिन कडाई गर्ने तयारी भइरहेको छ । त्यस्तै, सरकारले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदैछ ।

कुन-कुन बस्तुको आयात नियन्त्रण गर्ने भनेर पहिचान गरिसकिएको वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

‘अर्थ र वाणिज्य मन्त्रालय मिलेर कुन कुन बस्नुहरुको आयात नियन्त्रण गर्ने भनेर सूची तयार पारिएको छ,’ ती अधिकारीले भने, ‘संभवत आयात नियन्त्रण गर्ने प्रस्ताब मन्त्रिपरिषदमा पुगिसकेको छ ।’

केही वस्तुहरुको आयात नियन्त्रण गर्न बजेटसम्म कुर्दा अर्थतन्त्र झनै समस्यामा पर्ने विश्लेषण गर्दै मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्यान्वयन गर्ने तयारी भइरकेको उनले जानकारी दिए ।


पुष्प दुलाल