प्रचण्डले भने- व्यवसायीहरु देशभित्रै सुरक्षित भएनन् भने विदेशी लगानीकर्ता आउँदैनन्



वालिङ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताएका छन् ।

स्याङ्जाको वालिङमा आज आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिए ।

‘देशभित्रै व्यवसायीहरु सुरक्षित भएनन् भने विदेशी लगानीकर्ताहरु लगानीका लागि नेपालमा आउँदैनन्’ उनले भने ।

नेपालका लगानीकर्तालाई विदेशमा नभई स्वदेशमै लगानी गर्न आग्रह गर्दै नेकपा उनले जटिल ऐननियमलाई सहज बनाउने, लगानीको सुरक्षाका लागि प्रत्याभूति दिलाउने र अन्य विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता भएको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल सरकार विकास निर्माणका लागि प्रतिबद्ध रहेको बताउँदै सरकारले ठूलादेखि साना काम गर्नेमा विचलित नभएको उल्लेख गरे ।

वालिङ महोत्सवले वालिङ तथा समग्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बाटो बिराउने छुट नभएको बताए ।
उनले देश बनाउने जिम्मा सरकारको मात्रै नभई प्रतिपक्षीको पनि भएको उल्लेख गर्दै अब देशलाई अलमलमा मात्रै नराखेर नवीन सङ्कल्पसहित अगाडि बढ्नुपर्ने बताए ।

वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा आजबाट शुरु भएको सातौँ वालिङ महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।


पुष्प दुलाल