१०% सेवा शुल्क खारेज गर्ने रेस्टुराँ सञ्चालकको निर्णय विरुद्धमा आन्दोलन गर्ने मजदुर संघठनको घोषणा



काठमाडौं । रेष्टुराँ व्यवसायीहरूको साझा संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले मंगलबारदेखि लागू हुने गरी उपभोक्ताबाट १२ वर्षदेखि उठाउँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गरेको थियो ।

सेवा शुल्क खारेज गर्ने रेवानको निर्णयपछि रेस्टुराँमा काम गर्ने मजदुर संगठनहरूले आन्दोलनको घोषणा गरेका छन् ।

मजदुर संगठनका नेताहरुले रेबानले एकलौटी निर्णय गरेको भन्दै सेवा शुल्क खारेज गर्न नहुने माग गरेका छन्

मजदुरको ठूलो आन्दोलनबाट १० प्रतिशत सेवा शुल्क लिने व्यवस्था आएको भन्दै मजदुर संगठनहरुले रेवानको निर्णय कार्यान्वयन हुन नदिने घोषणसमेत गरेका छन् ।

तत्कालीन एमाले निकट होटल तथा क्यासिनो एन्ड रेष्टुरेन्ट मजदुर संगठनका महासचिव लक्ष्मण तिवारीले र तत्कालीन माओवादी निकट अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संगठनका महासचिव मुक्ति दाहालले रेबानको निर्णय लागू गर्न नदिने बताए ।

सेवा शुल्क वापतको ६८ प्रतिशत मजदुर र ३२ प्रतिशत रेष्टुराँ संचालकहरूले लिँदैं आएका छन् । सेवा शुल्क खारेजी गर्ने रेवानको निर्णयले रेष्टुराँमा उपभोक्तालाई ‘मेनु’ मा १० प्रतिशत भार कम हुने भएको छ ।

तर, मजदुरहरुले यसलाई कार्यान्वयन हुन नदिने भनेपछि उपभोक्तालाई फेरि सेवा शुल्कको भार पर्नसक्ने संभावना बढेको छ ।


पुष्प दुलाल