सेयरमा प्यान बहस: नेप्से उपप्रबन्धक र लगानीकर्ताको चर्काचर्की, सीइओ साउद हेरिरहे (भिडियोसहित)



शुक्रबार बिहान साढे ११ बजेका लागि लगानीकर्ताहरुलाई नेपाल स्टक एक्सचेञ्जले छलफलका लागि बोलाएको थियो । विषय थियो- ०७६ बैशाख १ गतेदेखि सेयर कारोबारमा अनिवार्य प्यान लगाउनू भनि धितोपत्र बोर्डले दिएको निर्देशन ।

साढे ११ बजेका लागि बोलाइए पनि छलफल शुरु हुँदा १२ बजेर ५ मिनेट गइसकेको थियो ।
लगानीकर्ताको हित गर्न भन्दै च्याउसरी खुलेका लगानीकर्ताका संघ/संगठनका नेताहरु पनि छलफलमा सहभागी थिए ।

छलफल शुरु भएको ३ मिनेटमै नेप्सेका कर्मचारी र लगानीकर्ताबीच विवाद चर्किहाल्यो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सबैको बीचमा बसेका थिए । साउदको दायाँतर्फ लगानीकर्ताका प्रतिनिधि हरी ढकाल र बाँयातर्फ नेप्सेकै कर्मचारी आठौ तहको कर्मचारी कामु उपप्रबन्धक प्रविन बन्दाक बसेकी थिइन् ।

बन्दाकले बैठकको शुरुमा नै लगानीकर्ताको मन दुखाईन । उनले बैठकको शुरु गर्र्दै हामी अनौपचारिक रुपमा छलफल गर्छौ भनिन् ।

‘सेयर कारोबारमा प्यान अनिवार्य गराउनू भन्दै अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई कात्तिक ९ गते पत्र पठाएको रहेछ । बोर्डले हामीलाई कात्तिक १५ गते पत्र पठायो । अनि हामीहरुले तपाईहरुलाई यहाँ छलफल गर्न बोलाएको हो ।’ बन्दाकले छलफल गर्नुको उद्देश्य र पृष्ठभूमिबारे यसरी ब्याख्या गरिन् ।

बन्दाकले त्यसो भनेपछि लगानीकर्ताहरुले पत्र मागे ।

उनले पत्र दिन इन्कार गर्दै भनिन्- ‘तपाईहरुलाई औपचारिक रुपमा पत्र काटेर छलफलको लागि बोलाएको हैन, अनौपचारिक रुपमा बोलाएको हो, पत्र दिन आवश्यक छैन ।’

बन्दाकको कुरा भुईँमा झर्न नपाउँदै लगानीकर्ताका नेता दिपेन्द्र अग्रवाल र हरी ढकालले चर्को विरोध गरे ।

हरी ढकाल र नेप्सेकी कर्मचारी बन्दाकसहित अन्य लगानीकर्ताको लगभग ७ मिनेट निकै चर्को स्वरमा बादबिबाद भयो । उक्त बादबिबादको कारण हरी ढकालले बैठक औपचारीक गराउन र बैठकपछि निर्णयको माइन्यूट तयार पर्न दबाब दिए ।

अन्तत अग्रवालको दबाबलाई सबैले समर्थन गरे ।

माइन्यूट बनाउन दबाब दिएपछि उनले माइन्यूट पहिला नै तयार भएको भन्दै टार्न खोजिन ।

जुनकुरा लगानीकर्ताहरुले मानेनन् । र, बाध्य बनाएर माइन्यूट ल्याउन लगाईयो ।

माइन्यूट लेख्ने भनिएपछि बैठक सुुरु भयो ।

यो बेलासम्म नेप्सेका सिइओ खासै प्रतिक्रिया नदिई सुनिमात्र रहे ।

१२ः५ बाट सुरु भएको बैठक २ः४५ सम्म चल्यो । यो अवधिभर पुरै चर्काचर्की भयो ।

भित्र चर्काचर्की भएको समयमा बाहिर रहेका नेप्सेका कर्मचारीहरु बन्दाकको गलत प्रस्तुतीले लगानीकर्ताहरु आक्रोशित भएको लखकाटी रहेका थिए ।


छलफल सकिएपछि नेप्सेकै एक उच्च तहका कर्मचारीले त आफ्नै कर्मचारीको कारण लगानीकर्ताको दबाबमा सहमति भएको माइन्यूट गर्न परेको बताए ।

कर्मचारीकै कारण लगानकिर्ताले दबाब दिएको र बनेको माइन्यूटमा लज्जास्पदरुपमा हस्ताक्षर गर्ने बाताबरण बनेको नेप्सेका अर्का एक अधिकारीले बताए ।

नेप्सेले पहिलो बोर्डमा छलफल गर्नु पर्नेमा बन्दाकै कारण आज लगानीकर्ता बोलाउनु परेको नेप्सेकै कर्मचारीहरु बताउँछन् ।

बैठकको सुरुदेखि भएको चर्काचर्कीमा साउदले धेरै समय सुनिमात्र रहे । लगानीकर्ताले आफ्नो धारणा राखिरहँदा बन्दाकले भने धेरैको कुरामा बीचमा नै प्रतिक्रिया जनाईन । जसले लगानीकर्तालाई अझै आक्रोशित बनायो ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याललेत बन्दाकलाई कुर्सीको धेरै डर लागेको समेत प्रतिकृया दिए । करको विषयमा कुरा सुुरु भएपछि उनले नेप्सेका कर्मचारीलाई बोलाएर कान्तिपुर र नागरिक पत्रिकामा आएको कर सम्बन्धी सूचना समेत पढेर सुनाउन भ्याईन ।

उनको र अग्रवालको बिबाद अन्तिम समयसम्म पनि कायम नै रह्यो । माइन्यूट तयार भयो ।

त्यो माइन्यूटमा राख्ने शब्दको विषयमा विवाद भएपछि अग्रवाल २ वटा माइन्यूटमा हस्ताक्षर नगर्ने र लगानीकर्ता दबाब समूहबाट कसैले पनि हस्ताक्षर नगर्ने भन्दै उठेर हिँडे ।

रफ गरी बनाएको माइनुट केरेर पुन अर्को माइन्यूट तयार पारियो । जहाँ अग्रवालले राख्ने भनेको शब्द ‘सिफरीस’ छुटेछ । त्यो शब्दमा ख्यालै नगरी सिईओ साउदले हस्ताक्षर गरेर कार्यकक्षमा गए ।

तर अग्रवालले सिफारीस शब्द राख्ने पर्ने भनेपछि बन्दाक मानिनन् । पछि अग्रवालले साउदको कार्यकक्ष मै गएर राख्न लगाए ।

नेप्सेले निकाल्ने विज्ञप्ति पनि लगानिकर्ताले बनाएपछि…

आइतबारको कारोबारलाई प्रभावित नबनाउन इन्भेष्टर फोरमका अन्जिव तुलाधरले सादा पेपरमा लेखेर नेप्सेले आजै निकाल्नु पर्ने सूचना पढेर सुनाए ।

उनले आज नेप्सेले यो निकाल्नु पर्छ भनेर सुनाएपछि बन्दाक निकै खुसि हुँदै हो यो ठिक छ हामी यो सूचना निकाल्छौं, खै त्यो मलाई दिनु त भन्दै मागिन् । नेप्सेले लगानीकर्तालाई हतात्साहित नहुने आजै वेभसाइटमा सूचना राख्ने विषयमा साउद पनि सहमत भएका थिए ।

तर तुलाधरले नै सूचना लेखेर यो निकाल्नु भनेर दिएपछि साउदले माइनुटमा हस्ताक्षर गररेर जुरुक्क उठेुर हिँडे । त्यही समयमा लगानीकर्ताहरु नेप्सेको सूचना पनि हामीले नै बनाएर दिनु पर्ने भन्दै हाँसिरहेका थिए ।

बन्दाकको ध्यान भने सूचना माग्नमा नै थियो । पछि उनले त्यो सूचना विज्ञप्तिको रुपमा निकाल्ने जानकारी दिइन् ।


पुष्प दुलाल