‘भ्यालेनटाइन डे’का लागि भारतबाट डेढ करोडको गुलाफ आयात, ६०% खपत काठमाडौंमा

शर्मिला पाठक २०७५ माघ ११ गते १०:३३ मा प्रकाशित

काठमाडौं । यस वर्षको प्रणय दिवसका लागि १ करोड ५० लाख मूल्यको १ लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।

गत वर्ष १ करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ ।

यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ ।

आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।

गत वर्ष प्रतिगुलाफ ४० देखि ८० रुपैयाँसम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ ।

प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ ।

व्यावसायिकरूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।

यस वर्षको तिहारका लागि भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । तिहारमा मात्रै रु एक करोड फूलको कारोवार हुने गर्दछ । यस पटकको तिहारमा भारतबाट अत्यन्तै थोरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयातमा वृद्धि गरिएको थियो ।

गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

नेपाली उत्पादन र आयात गरिएको गरी गत वर्ष रु एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वार्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ ।

मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाफ आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ ।

अष्टे«लिया र मलेशियामा धेरै नेपाली बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताए । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स