०७६ बैशाख १ देखि सेयर कारोबार गर्न ‘प्यान’ अनिवार्य गरिँदै, यस्तो छ सेबोन र नेप्सेको तयारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

बोर्डले केही समयअघि ०७६ बैशाख १ गतेदेखि प्यान अनिवार्य लागू गर्न नेप्सेलाई निर्देशन दिएको हो । बोर्डको निर्देशनपछि नेप्सेले पनि आवश्यक छलफल सुरु गरेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकतृ चन्द सिंह साउदले ब्रोकरहरुसँग प्रारम्भिक छलफल गरिसकिएको र अब लगानीकर्ताहरुसँग छलफल गर्ने बताए ।

नेप्सेले भोलि (शुक्रबार) प्यान लगायतका विभिन्न विषयमा छलफल गर्न बोलाएको छ ।

‘हामीले शुक्रबार लगानीकर्तासँग नियमित छलफल गर्दैछौं, छलफलमा यो विषयमा पनि पक्कै गंभीरताका साथ छलफल हुनेछ,’ साउदले क्लिकमाण्डूसँग भने ।

सरकारको यो व्यवस्थासँगै लाखौ लगानीकर्ताले प्यान नम्बर लिनुपर्ने हुन्छ । सेयर बजारका संघसंस्थाहरुले १५ लाख लगानीकर्ता भएको दाबी गरेपनि बजारमा ३ लाखको हाराहारीमा सक्रिय लगानीकर्ता भएको बताइन्छ ।

आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा बोर्डले दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले अनिवार्य प्यान नम्बर लिनुपर्ने उल्लेख गरेको थियो ।

बोर्डको नीति तथा कार्यक्रममा भएको विषयलाई कार्यान्वयनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट बक्तव्यमै दोस्रो बजारका लगानीकर्तालाई अनिवार्य प्यानमा दर्ता हुने व्यवस्था मिलाइने घोषणा गरेका थिए ।


पुष्प दुलाल