इन्भेष्टमेन्ट बैंकले सुमार्गीबाट २३ करोड फर्कायो, ५५ करोड फर्काउन ३ बैंकलाई राष्ट्र बैंकको पत्र



काठमाडौं । व्यवसायी अजेय सुमार्गीको पैसा फर्किन थालेको छ । अदालतको आदेश र राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सुमार्गीको करिब २३ करोड रुपैयाँ रकम फर्काएको छ ।

इन्भेष्टमेन्ट बैंकमा रहेको मुक्तिश्री इन्भेष्टमेन्टका नाममा रहेको खातामा रकम जम्मा गरिसकेको बैंकले जनाएको छ ।

‘हामीले सुमार्गीको मुक्तिश्रीका नाममा रहेको खातामा रकम फिर्ता गरिरहेका छौं, अधिकांश रकम फिर्ता भइसकेको छ, बाँकी पनि चाँडै गर्छौं,’ इन्भेष्टमेन्ट बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

मुक्तिश्रीका नाममा खोलेको खातामा इन्भेष्टमेन्ट बैंकमा रहेको सुमार्गीको ७८ करोड ७ लाख रुपैयाँमध्ये सुमार्गीले त्यहाँबाट निकालेर नेपाल बंगलादेश (एनबी) बैंकमा २५ करोड, प्राइम बैंकमा २० करोड र महालक्ष्मी विकास बैंकमा १० करोड रुपैयाँ जम्मा गरेका थिए ।

१४ दिनअघि खाता रोक्का नगर्नू भन्ने र १४ दिनपछि भिकिसकेको पैसा फिर्ता गर्नु भन्ने अदालतको आदेशले राष्ट्र बैंक र बैंकहरुलाई तनाबमा पारेको छ ।

‘इन्भेष्टमेन्ट बैंकले सुमार्गीले बैंकबाट निकालेको रकम फिर्ता गरेर बैंकमा रहेको मुक्तिश्री इन्भेष्टमेन्टका नाममा जम्मा गरिसकेको जानकारी दिएको छ,’ राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘राष्ट्र बैंकले अरु ३ बैंकलाई पनि रकम फर्काउन पत्राचार गरिसकेको छ ।’

राष्ट्र बैंकले बुधबार एनबी, प्राइम र महालक्ष्मीलाई पत्राचार गर्दै सुमार्गीको रकम पूर्ववत अवस्थामा ल्याउन निर्देशन दिएको छ । तर, ती बैंकले सुमार्गीले ऋण तिर्नमा खर्च गरिसकेको र पैसा निकालिसकेको बताएका छन् ।

‘हामीलाई राष्ट्र बैंकले अदालतको आदेश अनुसार सुमार्गीको रकम पूर्ववत अवस्थामा ल्याउनू भनेर निर्देशनसहितको पत्र पठाएको छ,’ एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘इन्भेष्टमेन्ट बैंकबाट निकालेर एनबी बैंकमा जम्मा गरेको रकम अहिले सुमार्गीको खातामा छैन । यहाँ भएको ऋण तिरिसकेका छन् । र, बाँकी रकम पनि निकालिसकेका छन् ।’

खातामा रकम नै नभएको अवस्थामा कसरी पैसा फिर्ता गर्ने भन्ने अन्यौल भएको सीइओ ढुंगानाले बताए ।

‘खातामा पैसा भएको भए त हामी फिर्ता गर्न लगाउँथ्यौं,’ ढुंगानाले भने, ‘अब के गर्ने भनेर हामी छलफल गरिरहेका छौं । एकदुई दिनमा निचोड निस्किएला ।’

‘हामीले अदालतको आदेश कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिइसकेका छौं, बैंकहरुले जसरी भएपनि सुमार्गीको खातामा भएको पैसा पूर्ववत अवस्थामा ल्याउनुपर्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

महालक्ष्मी विकास बैंकमा जम्मा गरेको १० करोड रुपैयाँ पनि सुमार्गीले निकालिसकेका छन् ।

‘पटकपटक गरेर सुमार्गीले पैसा निकालिसकेका छन्, अहिले आएर राष्ट्र बैंकले पूर्ववत अवस्थामा ल्याउनु भनेर निर्देशन दिएको छ,’ महालक्ष्मी विकास बैंकका एक अधिकारीले भने, ‘यो त मरिसकेको मान्छेलाई ज्यूँदो बनाउ भनेजस्तो भएन र ?’

राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकहरुले सुमार्गीको पैसा पूर्ववत अवस्थामा नल्याइ सुखै नभएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘हामीले अदालतको आदेश कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिइसकेका छौं, बैंकहरुले जसरी भएपनि सुमार्गीको खातामा भएको पैसा पूर्ववत अवस्थामा ल्याउनुपर्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।

१० लाख रुपैयाँभन्दा बढी नगद निकाल्न नपाइने भएकाले बैंकहरुमा भएको पैसा निकालेर सुमार्गीले कहाँ लगे भन्ने कुरा बैंकहरुलाई पनि प्रष्ट भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

‘करोडौ रुपैयाँ रातारात नगद निकाल्न संभव छैन, चेकबाट भएको भुक्तानी कहाँ गयो भनेर प्रष्टसँग खोज्न सकिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

सुमार्गीले मुक्तिश्रीका नाममा आएको वैदेशिक लगानीको स्रोत नखुलेपछि राष्ट्र बैंकले ५ वर्षदेखि सुमार्गीको खाता रोक्का गरेको थियो । सुमार्गीको खातामा करिब ७८ करोड अमेरिकी डलर थियो ।

तर, गत पुस १० गते सर्बोच्चका न्यायधीस दिपकराज जोशीको एकल अन्तरिम आदेश दिँदै सुमार्गीको खाता रोक्का नगर्न भनेको थियो ।

अदालतको आदेशपछि सुमार्गीले इन्भेष्टमेन्ट बैंकबाट रकम निकालेका थिए । सुमार्गीले पैसा निकालेर इन्भेष्टमेन्ट बैंककै ऋण पनि तिरेका थिए ।

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले गरेको एक अध्ययनले सुमार्गीले नेपाल ल्याउन लागेको १२ अर्ब रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको थियो ।

सुमार्गीले इन्भेष्टमेन्ट बैंकमा भएको पैसा निकालिसकेपछि भने अदालतले प्रधानन्यायधीस चोलेन्द्र शमसेर जबरा र न्यायधीस आनन्दमोहन भट्टराईको इजालशले यसअघिको अन्तरिमा आदेश सच्याउँदै उक्त रकम फिर्ता गर्न पुस २४ गते अर्को आदेश दिएको थियो ।

१४ दिनअघि खाता रोक्का नगर्नू भन्ने र १४ दिनपछि झिकिसकेको पैसा फिर्ता गर्नु भन्ने अदालतको आदेशले राष्ट्र बैंक र बैंकहरुलाई तनाबमा पारेको छ ।

सर्वोच्च अदालतले गत पुस ३० गते आइतबार राष्ट्र बैंकलाई सुमार्गीको पैसा फिर्ता गर्न आदेशसहितको पत्र पठाएको थियो ।

अदालतको पाएकै दिन राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकलाई पैसा फिर्ता गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन पछि इन्भेष्टमेन्ट बैंकले भने सुमार्गीको रकम पूर्ववत अवस्थामा ल्याएको हो ।

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले गरेको एक अध्ययनले सुमार्गीले नेपाल ल्याउन लागेको १२ अर्ब रुपैयाँको स्रोत खुल्न नसकेको देखिएको थियो ।


पुष्प दुलाल