बाफियाको संसोधनमा उमेर हद तोकियोः बैंकको सीइओ बन्न ६५ वर्ष, सञ्चालक बन्न ७० वर्ष



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चाक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि उमेरको हदबन्दी लगाउने तयारी भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संसोधन गर्न तयार पारेको मस्यौदामा उमेर हद तोक्नुपर्ने पस्ताव छ । बैंक सञ्चालक र सीइओप्रति राष्ट्र बैंक झन कडा देखिएको छ ।

‘बैंकको सीइओका लागि ६५ वर्ष र सञ्चालकका लागि ७० वर्षको उमेर हद तोक्ने प्रस्ताव गरेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘धेरै बुढा मान्छेहरु सीइओ र सञ्चालक हुँदा वित्तीय क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने निष्कर्श निकाल्दै यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।’

‘व्यापार व्यवसाय गर्न पनि उमेरको सीमा हुन्छ र ?’ एक बैंकका सञ्चालकले भने, ‘बैंकको सञ्चालक भनेको जागिर होइन, व्यवसाय हो ।’

उक्त उमेर हद नियुक्ति हुँदाको हो । यो व्यवस्था कार्यान्वयनमा आएको खण्डमा कुनै पनि बैंकको सीइओ नियुक्ति हुँदा उसको उमेर ६५ वर्ष र सञ्चालक नियुक्ति हुँदा उसको उमेर ७० वर्ष नाघेको हुनु हुँदैन । कार्यकाल ४ वर्षको हुने भएकाले सीइओले ६९ वर्षसम्म बैंकमा काम गर्न पाउँछन् ।

राष्ट्र बैंकले बाफियाको संसोधन मस्यौदा तयार पारेर अर्थ मन्त्रालयमा पठाइसकेको छ । अर्थ मन्त्रालयले आवश्वक छलफल गरी कानून मन्त्रालय र मन्त्रिपरिषदबाट स्वीकृत गराएर संसदमा प्रस्तुत गर्छ ।

संसदमा प्रस्तुत भएको विधेयकमाथि संसदीय समितिमा समेत छलफल हुन्छ । त्यसपछि संसदको पूर्ण सदनले पारित गरेपछि त्यसले कानूनको रुप लिन्छ । यो बीचमा धेरैपटक संसोधन हुने भएकाले राष्ट्र बैंकले गरेका प्रस्तावहरु जस्ताको त्यस्तै पारित नहुन पनि सक्छन् ।

‘सबै क्षेत्रमा काम गर्ने कर्मचारीको उमेर हद तोकिएको हुन्छ, बैंकजस्तो संमेदनशील क्षेत्रको बैंकका प्रमुख कार्यकारी र सञ्चालकलाई चाहीँ किन नतोक्ने ?’ राष्ट्र बैंक स्रोत भन्छ ।

बैंकका सञ्चालकहरुले भने उमेर तोक्ने प्रस्तावमा असहमति जनाउन थालिसकेका छन् ।

‘व्यापार व्यवसाय गर्न पनि उमेरको सीमा हुन्छ र ?’ एक बैंकका सञ्चालकले भने, ‘बैंकको सञ्चालक भनेको जागिर होइन, व्यवसाय हो ।’


पुष्प दुलाल