‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता, फोटो हेरेर व्यक्ति चिन्नै नसकिने




ललितपुर । परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उनी अनुमतिपत्र नलिई फर्किए । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उनलाई चालक अनुमतिपत्र छापिन नै बाँकी रहेको त्यहाँ कार्यरत कर्मचारीले बताएका थिए । तेस्रो पटकमा पाएको चालक अनुमपितपत्र पनि अस्पष्ट भएपछि उनी निराश बनेका छन ।

समीर जस्तै धेरै सेवाग्राहीको फोटो धमिलो वा नबुझ्ने भएकाले उनीहरु रित्तै हात फर्किरहेका छन । कतिपय सेवाग्राहीको नाम केरिएर प्रष्ट बुझिने छैन । यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयमा आएका धेरै अनुमतिपत्रमा यस्ता समस्या देखिरहेको हो ।

पछिल्लो एक महीनामा फोटो हेरेर व्यक्ति चिन्न नसकिने खालको चालक अनुमतिपत्र आइरहेको कार्यालयमा प्रमुख चेतप्रसाद उपे्रतीले बताए ।

फोटो प्रष्ट नबुझिने खालको अनुमतिपत्र सेवाग्राहीलाई दिँदा पनि त्यसले थप समस्या निम्ताउने भन्दै कार्यालयले अनुमतिपत्र नै नदिएको हो । उनले भने, “अनुमतिपत्रमा भएका विवरण र फोटो नै बुुझिने नभएपछि त्यसलाई दिनुको कुनै अर्थ हुँदैन ।”

कार्यालयबाट परीक्षा पास गरेका झण्डै तीन लाख सेवाग्राहीले स्मार्ट चालक अनुमतिपत्र पाइसकेका छैनन । परीक्षा पास गरेर राजश्व तिरेको १३÷१४ महीना बित्दासमेत यातायात व्यवस्था विभागबाट छापिएर नआउँदा सेवाग्राहीले अनुमतिपत्र नपाएका हुन ।

एकातिर छापिन नै एक वर्ष बढी लाग्ने र ढिलो आउँदा पनि विभिन्न समस्या देखिँदा सेवाग्राही कार्यालयमा आएर कार्यरत कर्मचारीसँग रिसाउँछन । उनले भने,“दैनिक अरु कामसँगै आएका सेवाग्राहीलाई सम्झाएर पठाउनु पनि हाम्रो काम भएको छ ।”

कार्यालयबाट सेवा शुरु भएदेखि अहिलेसम्म झण्डै सात लाखले ‘स्मार्ट अनुमतिपत्र’ का लागि राजश्व तिरिसकेका छन ।

तीमध्ये चार लाख १० हजारसम्मको वितरण भइसकेको छ । क्रम सङ्ख्या तीन लाख ९०/९१ हजारमा पर्ने कतिपय सेवाग्राहीले समेत पाएका छैनन ।

यातायात व्यवस्था कार्यालय सेवाग्राहीको भीड हुने कार्यालयमा पर्छ । त्यसमा पनि समयमा सेवा दिन नसकेपछि सेवाग्राहीको भीडभाड सधैँ कार्यालयमा हुने गरेको छ । एकातिर परीक्षाका लागि आउने सेवाग्राही, राजश्व तिर्न वा नवीकरणका लागि आउने सेवाग्राही र अर्कातिर राजश्व तिरेको लामो समयसम्म पनि अनुमतिपत्र नपाउँदा सेवाग्राही पटक÷पटक आउनेका कारण कार्यालय सधैँ खचाखच हुने गरेको छ ।

राजश्व तिरेको एकवर्ष नाघ्दासमेत चालक अनुमतिपत्र नआएपछि सेवाग्राहीले राजश्व तिरेको कागजकै भरमा सवारी चलाइरहेका छन ।

राजश्व तिरेको पातलो कागजमा लेखिएका कुरा मेटिँदा कतिपय सेवाग्राही दुई/तीन पटकसम्म त्यसको प्रतिलिपी लिएका छन । कतिपयले भने राजश्व तिरेको कागजको ‘लेमिनेशन’ गरेरै बोक्न थालेका छन ।

पहिले एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र बनाउन शुरु भएको थियो । दुईवर्ष पहिलेदेखि भने सबै अञ्चल कार्यालयले यो सेवा शुरु गरेका थिए । अहिले अञ्चल कार्यालय प्रदेश मातहतमा गइसकेका छन ।

कागजमा प्रदेशमा गए पनि काममा सङ्घअन्तर्गतको विभागले नै अनुमतिपत्रको छपाइ गरिरहेको छ । देशभरका सबै कार्यालयबाट परीक्षा उत्तीर्ण सेवाग्राहीको अनुमतिपत्र एकै ठाउँबाट छपाइ हुँदा ढिलाइ भइरहेको हो । विभागले पत्र पठाएर चालक अनुमतिपत्रको जिम्मेवार लिन प्रदेश कार्यालयलाई भन्न थालेको छ ।

यातायात व्यवस्था विभागले भने छिटफुट रुपमा मात्रै समस्या देखिएको बताएको छ । विभागका प्रवक्ता गोकर्णप्रासद उपाध्यायले प्रणालीमा अवरोध आएका कारण ‘स्मार्ट’ चालक अनुमतिपत्रमा केही असपस्ट भएको तर अस्प्रस्ट हुँदाहँुदै सेवाग्राहीलाई वितरण नगरिएको उनले जानकारी दिए । प्रणालीमा जुन समस्या देखिएको छ त्यो छिट्टै सुधार हुने उनकोे भनाइ छ ।

प्रवक्ता उपाध्यायले दर्ता भएको तर प्रमाण वा तथ्याङ्क नपुगेको कारणले अनुमतिपत्र क्रमबद्ध रुपमा नआएको पनि बताए । उनका अुनसार अहिलेसम्म प्रदेश कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण प्रक्रिया शुरु नभए पनि अब छिट्टै शुरु गर्ने तयारी भइरहेको छ ।


पुष्प दुलाल