बीमा कम्पनीमा काम गर्ने साधारण कर्मचारीलाई पनि ३ महिनाको कुलिङ पिरियड



काठमाडौं । बीमा कम्पनीहरुबीच कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै नियामक बीमा समितिले कडाइ गर्ने भएको छ ।

राम्रो अफर पाउनेवित्तिकै कर्मचारीहरु राजिनामा दिएर अर्को कम्पनीमा जागिर खान गइहाल्ने प्रवृत्तिलाई रोक्न बीमा समितिले ३ महिनाको कुलिङ पिरियड लगाउने भएको हो ।

‘बीमा कम्पनीमा कर्मचारीहरु तान्ने प्रतिस्पर्धा अस्वस्थ भयो, त्यसैले हामीले कुनै पनि कर्मचारीले राजिनामा दिएको ३ महिनासम्म संस्था छाड्न नपाउने नीतिगत व्यवस्था गर्न लागेका छौं,’ बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले क्लिकमाण्डूसँग भने ।

बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन २०७५ तयार पारिरहेको र त्यसमा यस्तो व्यवस्था गर्न लागिएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

खासगरी नयाँ बीमा कम्पनी आएपछि बीमा कम्पनीमा कर्मचारी तान्ने प्रतिस्पर्धा बढेको हो ।

बीमा समितिले गाडी दिएर कर्मचारी तान्ने प्रतिस्पर्धालाई रोक्न पनि कुन स्तरका कर्मचारीलाई गाडी दिने हो भन्ने कुरा कर्मचारी विनियमावलीमार्फत नै नियन्त्रण गर्न लागेको छ ।

बीमा समितिले सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई भने संस्थागत सुशासन निर्देशिकाले हेर्छ ।

बीमा समितिले ४० वटा बीमा कम्पनीमा ४० थरीका कर्मचारी विनियमावली भएकाले त्यसलाई एकीकृत गर्न कर्मचारी सेवा शर्त कर्मचारी विनियमावली सम्बन्धी मार्गदर्शन तयार पारेको अध्यक्ष चापागाईंले जानकारी दिए ।

‘बीमा समितिले जारी गरेको मार्गदर्शन भित्र रहेर बीमा कम्पनीहरुले आफ्नो कर्मचारी विनियमावली तयार गरी लागू गर्न सक्छन्,’ उनले भने ।

विनियमावलीमा बीमा कम्पनीहरुमा कर्मचारी भर्ना, बढुवालाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने भनेको छ ।

‘केही समयभित्रै यो विनियमावली कार्यान्वयनमा आउँछ,’ चापागाईंले भने ।


पुष्प दुलाल