बैंक संचालक र डेपुटी सिइओलाई पनि कुलिङ पिरियड



काठमाडौं । नेपाल राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थाको संचालक र डेपुटी सिइओलाई समेत कुलिङ पिरियड लगाएको छ ।

राष्ट्र बैंकले आइतबार निर्देशिका जारी गर्दै कुनैपनि बैंक तथा वित्तीय संस्थाको संचालक समितिमा रहेको व्यक्ति ६ महिना नपुग्दै अर्को बैंक तथा वित्तीय संस्थाको संचालक बन्न पाउने छैनन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाको संचालक कुनैपनि कारणले हटेमा त्यो कार्यकालको लागि भने पुनः नियुक्ती हुन नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले संचालकलाई लगाएको कुलिङ पिरियडले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक बन्नेलाई बढी असर गर्ने छ ।

यस्तै राष्ट्र बैंकले डेपुटी सिइओलाई समेत ६ महिनाको कुलिङ पिरियड लगाएको छ । सिइओलाई कुलिङ पिरियड लगाएको राष्ट्र बैंकले जुनसुकै कारणबाट पनि बैंक तथा वित्तीय संस्थामा दोस्रो तहमा रहेको व्यक्ति ६ महिना नपुग्दै सो पदमा नियुक्ती हुन नसक्ने जनाएको छ ।

यस्तै प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएको ६ महिना नपुग्दै संचालक बन्न समेत राष्ट्र बैंकले रोक लगाएको छ । समस्याग्रस्त वित्तीय संस्थाको हकमा यो व्यवस्था छुट रहेको छ ।


पुष्प दुलाल