सीजी टेलिकमको सुनुवाइ बिहिवार, के गर्ला सर्बोच्च अदालतले ?



काठमाडौं । सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सीजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजी गर्ने वा नगर्ने विषयमा भइरहेको बिहीबार ह हसुनुवाइ  हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उक्त सुनुवाइ ‘हेर्दाहेर्दै’मा बिहीबारका लागि तय गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले विनोद चौधरीको लगानीमा रहेको सीजी कम्युनिकेशन प्रालिलाई टेलिकम सञ्चालन गर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै गत पुस २४ गते भ्याकेट निवेदन दर्ता गरेका थिए ।

निवेदनमा कानूनी तथा तथ्यगत अवस्था नभएकाले अन्तरिम आदेश जारी हुनसक्ने अवस्था नै नरहेको र प्राविधकरणलाई सुनुवाइको मौका नै नदिई एकपक्षीय सुनुवाई गरी जारी गरिएको आदेश गलत तथ्यमा आधारित, प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको उल्लेख गरिएको थियो ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत पुस १० गते सीजीलाई सेवा सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्राधिकरणले आगामी सुनुवाइबाट सो अन्तरिम आदेश खारेज गर्न माग गरेको छ । प्राधिकरणले सीजीले कानूनी प्रक्रिया र मापदण्ड पूरा नगरेकोे उल्लेख गर्दै मोबाइल सेवा सञ्चालनमा रोक लगाउँदै आएको थियो ।


पुष्प दुलाल