तत्काल घर नबनाए सेवासुविधा नदिने भनेपछि भूकम्पपीडितले अनुदान फिर्ता गर्न थाले



सोलुखुम्ब । भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन ।

पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिकरणलाई नै अनुदानबापतको ५० हजार रुपैँया फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ ।

जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर तत्काल घर निमार्ण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गरेको प्राधिकरणका सामाजिक परिचालक माया शेर्पाले जानकारी दिए ।

विसं २०७२ को भूकम्पले लिखुपिके गाउँपालिका साविक गोली–९ का जाङ्बु शेर्पाको घर सर्वेक्षणको क्रममा पूर्णक्षतिमा परेको थियो । “आफ्नो घर पूर्ण क्षतिमा प¥यो, अनुदान पाइन्छ भनेर सबैले भने ।” शेर्पाले भने, “मैलेपनि अनुदान बुझे अहिले तत्काल घर बनाउन नसके राज्यले दिने सेवा सुविधा कटाउँछ भनेको सुनेपछि रकम नै फिर्ता गरेको हो ।” पूर्ण क्षतिमा परेको भए पनि तत्काल घर बनाउन नसक्ने भएपछि अनुदान रकम फिर्ता गरेको शेर्पाले बताए ।

अहिलेसम्म सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने तीनजना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिका–११ का बलबहादुर कार्की र सोलु दूधकुण्ड नगरपालिका– ६ का छिरिङ शेर्पाले यस अघिनै पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरिसकेका छन ।


पुष्प दुलाल