नगरपालिकाको पहिलो सडक कालोपत्रे सम्पन्न



पर्वत । पर्वतको फलेबास नगरपालिकामा पर्ने मुडिकुवा–झकलक–कुर्घा–लुङ्खु सडकको मुडिकुला–लमायखोला सडकखण्ड कालोपत्रे भएको छ ।

ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना आयोजनाले फलेवास नगरपालिका–४ मुडिकुवादेखि फलेवास नगरपालिका–५ मा पर्ने लमायखोलासम्म सात किलोमिटर सडक कालोपत्रे गरेको हो । आरआरआरएसडिपी मार्फत कालोपत्रे भएको यो सडक नै फलेवास नगरपालिकाभित्र कै पहिलो कालोपत्रे सडक हो ।

मुडिकुवा–लमायखोला खण्ड २०७४ असारमा नै सम्पन्न हुनुपर्ने भए पनि डेढ वर्ष ढिलो गरी कालोपत्रे भएको हो । कालोपत्रेको सबै काम सकिएको र भत्किएका नाली मर्मतको काम भइरहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका जिल्ला आयोजना व्यवस्थापक जगदिश शर्माले जानकारी दिए ।
फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको सात किमी खण्ड कालोपत्रे गर्न २०७२ माघमा चितवनको ओएसिस इञ्जिनीयरिङ एन्ड बिल्डर्स कम्पनीले ठेक्का सम्झौता गरेको थियो । मुख्य ग्रामीण सडकअन्तर्गत पर्ने यो सडकले फलेवाससहित महाशिला, बिहादी र पैयुँ गाउँपालिकाभित्रका ३१ वडावासीलाई प्रत्यक्ष लाभ पुग्छ ।


पुष्प दुलाल