भारु २००, ५०० र २००० को नोट चलाउन दिन राष्ट्र बैंकले आरबीआईलाई चिठ्ठी पठायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नयाँ नोट नेपालमा चलाउन अनुमति दिन अनुरोध गर्दै भारतीय केन्द्रीय बैंक रिजर्ब बैंक इन्डिया (आरबिाई)लाई पत्राचार गरेको छ ।

नेपालमा अहिले आरबिआईले १०० रुपैयाँ दरसम्मको नोट मात्र संचालनको लागि अनुमति दिएको छ । चलनचल्तीमा २००, ५०० र १००० दरका नोट भएपनि आरबिआईले नेपालमा चलाउन अनुमति दिएको छैन ।

‘हामीले आरबीआइलाई २००, ५०० र २०० को नयाँ नोट चलाउन अनुमति दिन माग गर्दै पत्र पठाएका छौं,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘सरकारको आदेशमा नै हामीले आरबीहाइलाई पत्र पठाएका हौं ।

पत्रमा ५०० र १००० दरका पूराना भारु नोट साटिदिन पनि अनुरोध गरिएको राष्ट्र बैंकका ती अधिकारीले जानकारी दिए ।

मन्त्रिपरिषदले पुस १० गतेदेखि लागु हुने गरेर नेपालमा भारतीय २००, ५०० र २००० दरका नोटको कारोबारमा रोक लगाएको थियो ।

खासगरी तराई क्षेत्रबाट ब्यापक बिरोध आएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

‘मन्त्रिपरिषदले हचुवाको भरमा निर्णय गर्यो, अहिले दबाब थेग्न नसकेर आफैं ब्याक हट्यो,’ स्रोतले भन्यो ।

अर्थमन्त्रालयमा काजमा रहेका राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले आरबिआईले नेपालमा नोट चलाउन नदिएको कारण २००, ५०० र २००० दरको नोट सर्वसाधारणलाई प्रयोग नगर्नको लागि निर्णय गरिएको जानकारी दिए ।

‘कानूनी रुपमा नेपालमा आरबिआईले नोट चलाउने अनुमति नदिएपछि सरकारले त्यसको जानकारी सर्वसाधारणलाई दिएको हो,’ खरेलले क्लिकमाण्डूसँग भने ।

खरेलले कानूनी रुपमा नोट संचालन गर्न दिने पत्र नै राष्ट्र बैंकले आरबिआईलाई लेख्नुपर्ने व्यवस्था भएको बताए ।

सरकारले २००, ५०० र २००० दरको नेपालमा नचल्ने घोषणा गरेपछि यसको असर सिमावर्ती क्षेत्रमा परेको छ । तराई मधेशबाट प्रतिनिधित्व गर्ने निर्वाचन जनप्रतिनिधिले यो व्यवस्था हटाउन माग गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ मा ५०० र १००० दरका नोट प्रतिबन्ध लगाएका थिए । त्यसपछि नेपालमा रहेको नोट साटिएन ।

मोदी प्रधानमन्त्री भएपछि पहिलो पटक नेपाल आएपछि वैधानिक रुपमा ५०० र १००० दरको नोट २५ हजार भारतीय रुपैयाँसम्म बोक्न खुल्ला भएको थियो ।


पुष्प दुलाल