करिव ३४ लाख खर्चेर राखेका सिसी क्यामरा र साैर्यबत्ती प्रयोगविहिन
बाँके । नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन ।
ती क्यामराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चारफाँटले केही लामो समयदेखि र केही हालसालै बिग्रिएर १२ त्यस्ता क्यामराले काम गर्न छाडेको जनाएको छ । क्यामरा व्यवस्थापन समितिका संयोजक नन्दलाल वैश्यले ठेकेदार कम्पनीले नै बिग्रिएको सिसी क्यामरा मर्मत गर्ने सम्झौता भएअनुसार मर्मत भइरहेको जानकारी दिए । चार महीनासम्म गहन छलफल र सहयोग सङ्कलन गरेपछि नेपालगञ्जका विभिन्न चोकमा सिसी क्यामेरा राखिएको थियो । गत साउन २१ गते सिसी क्यामेराको उद्घाटन गरिएको थियो । चोकमा क्यामरा राख्न तत्कालीन प्रहरी उपरिक्षक टेकबहादुर तामाङले महत्वपूर्ण भूमिका खेलेको थिए भने २५ सदस्यीय सिसी क्यामरा व्यवस्थापन समितिले सबै चाँजोपाँजो मिलाएको थियो ।
संयोजक वैश्यले केही क्यामरा बिग्रिने र तत्कालै बनाउने काम भइरहेको बताए । उनका अनुसार विद्युत पोलको काम भइरहेको, हावाहुरी र सवारीसाधनले तारमा असर गर्दा केही ठाउँको क्यामरा बिग्रिएका छन । ठेकेदार कम्पनीलाई एक जना प्राविधिक यही राखिदिन अनुरोध गरिएको छ ।
नेपालगञ्जमा सिसी क्यामरा जडान गर्न विभिन्न व्यक्ति, उद्योग, फर्मबाट ४५ लाख ७६ हजार सङ्कलन गरिएकोमा ५६ वटा जडान गर्दा ३३ लाख ९७ हजार २६० रुपैँया खर्च भयो । ती ५६ क्यामराको १४ किलोमिटरमा नेटवर्क बनाइयो भने अन्य ठाउँमा पनि क्यामरा राख्ने तयारी छ ।
भएकै क्यामराको राम्रो व्यवस्थापन गर्न नसकेको व्यवस्थापन समितिका संयोजक वैश्यले भने , “औद्योगिक क्षेत्रलगायतका अन्य ठाउँसहित नेपालगञ्जमा १५० जति क्यामरा जडान गर्ने तयारी छ ।” राँझा, कारकाँदो, पुष्पलाल, धम्बोझी, बिपी, गणेशमान, त्रिभुवन, बसपार्क, अञ्चल अस्पताल, शहीद सेतुविक चोकलगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ ।
त्यस्तै उज्यालो शहर बनाउन नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रको सुर्खेत रोड र न्यूरोड क्षेत्रमा राखिएका ६७ सौर्य बत्ती बल्दैनन । दुई वर्षअघि पाइलट प्रोजेक्टका रुपमा राखिएका सौर्य बत्ती बिग्रिएपछि मर्मतमा कसैले चासो देखाएको छैन ।
ठेकेदार कम्पनी र नेपालगञ्ज उपमहानगरपालिका बीच मर्मत कसले गर्ने भन्नेमा निक्यौल नहुँदा बिग्रिएका ती बत्ती बनाउनेतर्फ पहल हुनसकेको छैन । काठमाडौँस्थित सौर्य इनर्जी प्रालिले जडान गरेको ७० बत्तीबारे आफूसँग जानकारी रहेपनि अन्य ८० कसले जडान गरेको भन्नेबारेमा नेपालगञ्ज उपमहानगरपालिका नै बेखबर छ ।
उपमहानगरपालिका योजना शाखाका इञ्जिनीयर सुरजकुमार गुप्ताले भने, “बिग्रिएको सौर्य बत्ती मर्मत गर्नेबारे ठेकेदार कम्पनी सौर्य इनर्जीसँग भएको सम्झौता अस्पष्ट भएकाले समस्या छ ।” इञ्जिनीयर गुप्ताका अनुसार बत्तीको कुनै पाटपुर्जा बिग्रिएमा दुई वर्षसम्म त कुनै तीन वर्षसम्म मर्मत गर्नुपर्ने सम्झौता भएको छ । “सबै सम्झौता मन्त्रालयबाट सोझै भएको हुँदा प्राविधिक कुराबारे हामीलाई जानकारी छैन”, गुप्ताले भने ।