ट्याक्सीमा मिटर भाडा समायोजनकाे काम अघि बढ्यो



काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अघि बढाएको छ ।

ट््याक्सीहरु मिटरमा जान नमान्ने गुनासो र ट्याक्सीवालाको भाडा समायोजन हुने मागलाई मध्यनजर गर्दै भाडा समायोजन कार्य अघि बढाइएको हो ।

विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको जानकारी दिएका छन ।

“मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ”, उनले भने । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा रु ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा रु ५३ उठ्छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताए । “समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ”, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन ।


पुष्प दुलाल