थन्किएको २१३ मेट्रिक टनमध्ये २९ मेट्रिकटन कपास बिक्याे



बाँके । चार वर्षदेखि गोदाममा थन्किएको २१३ मेट्रिक टन कपासमध्ये २९ मेट्रिकटन कपास बिक्री भएको छ । प्रतिमेट्रिक टन रु दुई लाख १८ हजारका दरले पछिल्लो चार महीनामा रु ६० लाख बराबरको २९ मेट्रिक टन कपास बिक्री भएको कपास विकास समिति खजुुराले जनाएको छ ।

समितिका निमित्त प्रमुख विजयकुमार जोशीका अनुसार अहिले खजुरास्थित समितिको गोदाममा १८४ मेट्रिक टन मौज्दात रहेको छ । अहिले चिसो बढेसँगै कपासको बिक्री पनि बढिरहेको उनले बताए । उनका अनुसार पुसको पहिलो हप्तामा चार मेट्रिक टन कपास बिक्री भइसकेको छ ।

कपास उत्पादन भइरहे पनि यसको उचित मूल्य पाउन नसकेको किसानले गुनासो गर्दै आएको उनले जानकारी दिए । किसानको मागअनुसार मूल्य सामायोजन गर्न आवश्यक पहल भइरहेको बताउँदै प्रमुख जोशीले अब समितिले थोक र फुटकर गरी दुईवटा मूल्य निर्धारण गर्ने तयारी गरेको जानकारी दिए ।

सरकारले कपास खेतीलाई प्रोत्साहन गर्न समितिमार्फत किसानलाई कपासको बीउ, विषादी तथा रासायनिक मलमा ५० प्रतिशत अनुदान दिइँदै आएको छ । यसवर्ष ८० मेट्रिक टन उत्पादन गर्ने लक्ष्य रहेकोमा अहिलेको उत्पादनलाई हेर्दा उक्त अवधिमा लक्ष्यभन्दा बढी नै कपास उत्पादन हुनसक्ने अनुमान गरिएको छ ।

भारतीय कपासले नेपाली बजार ओगटेका कारण पनि स्थानीय तहमा उत्पादन भएको कपास समयमै बिक्री गर्न समस्या हुने गरेको समितिले जनाएको छ । जमुनाह नाका हुँदै नेपालगञ्जमा वार्षिक रु ६ करोडको भारतीय कपास आयात हुने गरेको छ । भारतबाट आयात हुने कपास नेपालका पहाडी तथा हिमाली जिल्लामा खपत हुने गरेको छ ।

भारतबाट धेरै कपास आयात हुँदा नेपाली बजारको अभावले बिक्रीमा समस्या भइरहेको छ । “भारतीय कपास सस्तो भए पनि नेपाली कपास जत्तिको गुणस्तरीय हुँदैन”, उनले भने । “उद्योग अभावले यस क्षेत्रमा उत्पादित कपासले उचित बजार पाउन नसकेको अवस्थामा भारतीय कपाससमेत बिक्री हुनसकेको छैन ।”


पुष्प दुलाल