गभर्नरसँग बैंकका अध्यक्षको गुनासोः सिइओले हामीलाई टेरेनन्



काठमाडौं । वाणिज्य बैंकहरुका अध्यक्ष तथा सञ्चालकहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले आफुहरुलाई नटेरेको गुनासो गरेका छन ।

बिहीबार २८ वटै बैंकका अध्यक्ष र सञ्चालकहरुसँग नेपाल राष्ट्र बैंकले गरेको अन्तरक्रियामा यस्तो गुनासो पोखेको हुन ।

दिउँसो २ बजेदेखि भएको अन्तरक्रियामा राष्ट्र बैंकका गभर्नर डाक्टर चिरन्जीवी नेपालले बैंकका सञ्चालकहरुलाई जिम्मेबार रुपमा प्रस्तुत हुन निर्देशन दिएका थिए ।

सम्पती सुद्धिकरण निवारण र संस्थागत सुशासनका विषयमा भएको अन्तरक्रियामा गभर्नर नेपालले बैंकका लगानी कर्ताहरु गैरजिम्मेवार हुँदा वित्तीय क्षेत्रमा समस्या आउने बताए ।

‘बैंक भनेको अत्यन्तै संवेदनशिल व्यवसाय हो, लगानी कर्ताले बैंकमा ५ देखि १० प्रतिशतमात्रै लगानी गरेको हुन्छ, बाँकी रहेको अर्बौ रकम सर्वसाधरण हो’, डाक्टर नेपालले भने, ‘तपाईहरुले त्यसको जिम्मेवारी बोधगर्नुहोस ।’

ञ्चालकहरुको दवाबका कारण बैंकमा संस्थागत सुशासन कमजोर हुने गरेको बताउँदै गभर्नर नेपालले यस्तो नगर्न चेतावनी समेत दिए ।

‘बैंकहरुले राष्ट्र बैंकको नीति निर्देशन पूर्ण रुपमा पालना गर्नुपर्छ, कम्प्लाइन्समा हामी कुनै पनि किसिमको कम्प्रमाइज गदैनौं’, उनले भने ।
गभर्नरको यस्तो निर्देशनपछि बैंक अध्यक्ष तथा सञ्चालकहरुले सिइओहरुले आफूहरुलाई नटेरेको गुनासो गरेका हुन ।

‘सिइओहरुले हामीले भनेको मान्दैनन, केही जटिल विषय आयो कि कम्प्लाइन्सले मिल्दैन भन्छन’, आधा दर्जन भन्दा बढी बैंक सञ्चालकले गुनासो गरे ।

कार्यक्रममा दुबै जना डेपुटी गभर्नर अर्थमन्त्रालयका प्रतिनिधि समेत उपस्थित थिए।


पुष्प दुलाल