दिगम्बर झाको दाबीः यो देशका २/४ जना कुशल प्रशासकमध्ये म एक हुँ (भिडियोसहित)
काठमाडौं । चरम भ्रष्ट व्यक्तिको रुपमा चौतर्फी आलोचना भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफू यो देशका २/४ जना कुशल प्रशासकमध्येको एक भएको दाबी गरेका छन् ।
बुधबार राजधानीमा आयोजितक साक्षात्कार कार्यक्रममा झाले यस्तो दाबी मात्रै गरेनन् आफूलाई भ्रष्ट भन्ने नेता तथा पूर्वमन्त्रीहरु विरुद्ध खनिए पनि ।
‘यो देशमा यदि दुई/चार जना यदि कुशल प्रशासकको नाम आउँछ भने त्यसमा मेरो पनि नाम पर्छ, त्यसैले म चर्चित व्यक्तित्व हुँ तर, विवादित होईन्, भ्रष्टाचारको कुरा गर्नुहुन्छ भने सावित हुने त परको कुरा हो, कुनै काण्डमा आजसम्म म आरोपित पनि भएको मान्छे होईन,’ उनले प्रष्ट पारे, ‘यो–यो ठाउँमा दिगम्बर झाले गलत गर्यो भनेर कसैलेपनि आजसम्म औंलासमेत उठाउन सकेका छैनन् ।’
आफ्नो नियुक्तीपश्चात् सत्तारुढ दल नेकपाकै नेताहरुले केही कुरा उठाएको सुनाउँदै झाले भने,‘मलाई उहाँहरुले विवादित, भ्रष्टाचारी र अयोग्य भनेर भन्नुभयो । दूरसञ्चार प्राधिकरणलाई म आउनुभन्दा पहिले त्यति मान्छेले नै चिनेका थिएनन् । तर, म आएपछि यसलाई चिनाएँ । मेरो काम सन्तोषजनक भएकोले नै देउवा सरकारको पालामा अर्कोपटक नियुक्ती भएको हो । म कुनैपनि राजनीतिक दलसम्बद्ध व्यक्ति होईन् । म कोही दलसँग नजिक पनि छैन् । म यो देशको विशुद्ध व्यवसायिक व्यक्ति हुँ । म कुशल व्यवस्थापकको रुपमा स्थापित भएको छु ।’
नेकपाको स्थायी समितिको बैठकमा समेत विभिन्न नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएकोमा टिप्पणी गर्दै उनले यसले आफू मर्माहत भएको र खिन्न भएको गुनासो पोखे ।
उनले भने,‘म निकै दुःखी भएको छु । त्यतिमात्रै होईन, मसँग सम्मानीय प्रधानमन्त्री र माननीय मन्त्रीज्यूको नामसमेत जोडिएको छ ।उहाँहरुबीच आपसमा केही राजनीतिक कुरा भए गर्दा हुन्छ, हामीलाई केही फरक पर्दैन् । तर मजस्तो एउटा कर्मठ र ईमानदार राष्ट्रसेवकलाई खुलेआम सञ्चारमाध्यमहरुमा भ्रष्टाचारी सावित गर्नु, जबकी कुनै आरोप नै छैन् । यो दुःखको कुरा हो ।’
उनले यस्तो आरोपले आफ्नो चरित्र हत्या भएको गुनासो पोखे । उनले भने,‘मेरो प्रतिष्ठामा आँच आयो । चरित्र हत्या भयो । मेरो मानहानी भयो । यसको लागि म भोलि अदालत गएर न्याय माग्न सक्छु । मानहानीको क्षतिपूर्तिपनि माग्न सक्छु ।’ नेपाल सतिले सरापेको देश भनिएको सुनाउँदै उनले आफ्नो हकमा पनि त्यही भएको गुनासो पोखे । उनले भने,‘राम्रो काम गर्नेको यो देशमा कहिल्यैपनि भलो हुँदैन् ।’
आफूले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबैमा ईन्टरनेटको पहुँच पुर्याउनको लागि काम गरेको पनि उनले सुनाए । उनले भने,‘सबै गाउँमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच स्थापित गर्नको लागि काम गरेको छु । डिजिटल लिटरेसीको कार्यक्रम अघि बढाएको छु ।’
झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने, ‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’
उनले आफू जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे नभइ काम गर्ने मान्छे भएको बताए, सत्तारुढ दल नेकपाका नेताहरुको राजनीतिक झगडामा आफूलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न भएकोमा उनले आपत्ति जनाए ।