मार्जिन लेन्डिङको काम सेयर ब्रोकरबाट हुने, ब्याजदर घटाउन मौखिक पहल नघटे नीतिगत हस्तक्षेप



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजार र मुद्रा बजारको विषयमा देखिएको समस्या समाधान गर्न कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नरको संयोजकत्वमा गठन भएको कार्यदलले अर्थमन्त्री खतिवडालाई ५८ बुँदे सुझाव पेश गरेको थियो । कार्यदलले अल्पकालिन मध्यकालिन र दीर्घकालिन रुपमा समस्या समाधान गर्ने सुझाव दिएको छ ।

कार्यदलले मार्जिन लेन्डिङको काम सेयर ब्रोक्ररको बाट गराउन सुझाव दिएको छ । यो सम्बन्धि व्यवस्था धितोपत्र बोर्ड गरेपनि नेप्से संचालक समितिले राष्ट्र बैंकको अनुमति चाहिने भन्दै रोकिएको थियो ।

यस्तै सेयर धितोमा अहिले ५० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा दिदै आएकोमा यसलाई ६५ प्रतिशत पुर्याउने सुझाव कार्यदलले दिएको छ । यसको लागि राष्ट्र बैंकले यही साता निर्देशन जारी गर्ने छ ।

कोर क्यापिटलको ४० प्रतिशतसम्म सेयर धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा दिन पाउनेछन् । सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतमा झार्ने सुझाब समितिले दिएको छ । हकप्रद र बोनस सेयर समायोजनपछि मूल्य घट्दा मार्जिन कल आउने गरेकोमा त्यसलाई समेत हटाउने सुझाव समितिले दिएको छ । यो व्यवस्था राष्ट्र बैंकले निर्देशिकाबाट सम्बोधन गर्ने छ ।

पछिल्लो समय वाणिज्य बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेको विषयमा राष्ट्र बैंकले सिइओलाई बोलाएर तत्कालको लागि ब्याजदर घटाउन दवाव दिने छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ब्याजदर घटाउनको लागि बैंकरलाई बोलाएर मौखिक रुपमा आग्रह गरिने र त्यसपछि नीतिगत रुपमा नै हस्तक्षेप गरिने जानकारी दिए ।


क्लिकमान्डु