सेयर ब्रोक्ररको आरोप मार्जिन लेन्डिङको काम धितोपत्र बोर्डले रोक्यो, बोर्ड भन्छः राष्ट्र बैंक बाधक



काठमाडौं । अर्थसमितिले मंगलबार सेयर बजारको घट्दो विषयमा छलफल गर्नको लागि सरोकारवालाको बैठक बोलाएको थियो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडा अर्थमन्त्रालयका उच्च अधिकारी सहित उपस्थित थिए । यस्तै राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल,धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की,नेप्सेका सिइओ चन्द्रसिंह साउत,ब्रोक्रर संघका अध्यक्ष भरत रानाभाट,मर्चेन्ट बैंकर संघका अध्यक्ष ध्र्रुव तिमिल्सिना र इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल ।

बैठकमा ब्रोक्रर संघका अध्यक्ष भरत रानाभाटले लगानीकर्ताले माग गरे अनुसारको मार्जिन लेन्डिङको सुविधा दिनको लागि पुँजी बढाएपनि धितोपत्र बोर्डको कारण त्यो सम्भव नभएको बताए ।

‘अन्तराष्ट्रिय चलन अनुसार मार्जिन लेन्डिङको काम ब्रोक्ररले गर्ने हो,बोर्डको निर्देशन अनुसार हामीले पुँजीपनि बढायौ,अहिले ब्रोक्ररलाई मार्जिन लेन्डिङ गर्न दिने हो भन सेयर बजारमा ३ अर्ब रुपैयाँसम्म थप प्रवाह हुन्छ,’उनले भने ।

ब्रोक्रर संघका अध्यक्ष रानाभाटले सबै स्थानीय तहमा बोक्ररको शाखा पुर्याउन सकिने र यसको लागि बोर्डको शाखा सम्बन्धि नियम खुकुलो हुनुपर्ने बताए ।
धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले ब्रोक्ररलाई मार्जिन लेन्डिङको काम गर्नको लागि राष्ट्र बैंक बाधक रहेको बताए ।

‘हामीले मार्जिन लेन्डिङको लागि सबै प्रक्रिया पुरा गरेर नेप्सेलाई ब्रोक्ररलाई यो काम गर्न दिन भन्यौ,नेप्सेको संचालक समितिले राष्ट्र बैंकको सहमति लिनपर्ने निर्णय गर्दा यो कार्यान्वयन भएन,’ कार्कीले भने । उनले आफु बोर्डमा आएपछि लाइन लाग्नुपर्ने व्यवस्थालाई हटाएको भन्दै सेयर बजारमा सुधारको प्रयास सुरु गरेको बताए ।

बोर्ड अध्यक्षपछि बोलेका राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपालले नेप्से धितोपत्र बोर्ड अन्तर्गतको निकाय भएको भन्दै यसको बारेमा राष्ट्र बैंकलाई जानकारी नहुँने बताए ।


क्लिकमान्डु