नेपाली कांग्रेसमा एकताको प्रयास: विवाद सुल्झाउन देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दै


काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र किचलो अन्त्यका लागि संस्थापन पक्षले सक्रियता बढाएको छ । पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गरी एकता कायम गर्न सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।

पार्टीको संस्थापन समूहको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वयसँग सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका शीर्ष नेताहरूले आजै संवाद गर्ने जानकारी दिए । पार्टीलाई एकढिक्का बनाउन दुवै पक्ष लचिलो हुनुपर्ने भन्दै उनले संवादका लागि सभापति देउवा तयार भइसकेको बताए ।

यता प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘विशेष महाधिवेशन’को बन्दसत्र जारी रहँदा संस्थापन पक्ष भने त्यसलाई रोकेर सहमति खोज्ने प्रयासमा जुटेको छ । सभापति देउवाले आजै आफ्ना निकट नेताहरूसँग पनि पार्टीको आन्तरिक विवाद र विशेष महाधिवेशन केन्द्रित छलफल गरेका छन् ।

छलफलमा सहभागी नेता रामहरि खतिवडाले पार्टीलाई बलियो बनाउन सबै विकल्पमा खुला हुनुपर्ने धारणा राखेका छन् । उनले भृकुटीमण्डपमा जारी भेलालाई नेताहरू शेखर कोइराला वा पूर्णबहादुर खड्कामध्ये कसले सम्बोधन गर्दा एकताको सन्देश जान्छ, त्यसै गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

खतिवडाका अनुसार दुवै पक्षले आफ्नो अडान (हठ) त्यागेर साझा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिइएको छ । “पार्टीलाई बलियो बनाउन जे आवश्यक छ, त्यही गरौँ भन्ने हाम्रो जोड हो । ‘मेरो बाह्रै टक्का’ नगरौँ भन्ने कुरा सभापतिजीसँगको छलफलमा भएको छ,” उनले भने ।

पार्टीभित्रको बढ्दो दूरीलाई संवादमार्फत घटाएर एकता जोगाउन अहिले दुवै समूहका नेताहरूबीच विभिन्न तहमा छलफल भइरहेको छ । महामन्त्रीद्वय र सभापतिबीच हुने भनिएको आजको वार्तालाई कांग्रेसको भविष्य र एकताका लागि निर्णायक मानिएको छ ।