एकथरी युवा देश बनाउन चुनावमा उठ्दै, अर्काथरी युवा निर्वाचन सफल बनाउन सुरक्षा सेवामा खट्दै (भिडियो)


काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जनाका लागि निर्वाचन प्रहरीमा आवेदन खुलाएपछि यतिबेला देशभरका प्रहरी कार्यालयमा आवेदन दिनेको भिड लागेको छ । एकाथरी युवा आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएर देश बनाउने पवित्र उद्देश्यका साथ राजनीतिमा होमिँदो उस्तै उमेरका अर्काथरी युवा भने निर्वाचनका क्रममा सुरक्षा दस्तामा खटेर चुनाव सफल बनाउने लक्ष्यसहित म्यादी प्रहरीमा जागिरका लागि आवेदन दिन लाइनमा बसिरहेका छन् ।

नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै पुस २६ गतेदेखि माघ १ गतेसम्मका ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को दरखास्त आह्वान गरेको थियो । उक्त दरखास्तमा देशका सबै ७७ वटै जिल्ला प्रहरी कार्यालयहरूमा हरेक दिन हजारौं नेपालीहरु आवेदकहरु स्वयम् उपस्थित भई दरखास्त दिइरहेका छन् ।

भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा मात्रै पुस २८ गते (सोमबार) दिउँसोसम्म २ हजार २८४ जनाले आवेदन दिइसकेका छन् । आवेदन दिनेमध्ये सबैभन्दा बढी पुरुष छन् । सोमबार दिउँसोसम्म आवेदन दिनेहरु १ हजार ६७८ जना पुरुष र ६२७ जना महिला रहेको वरिष्ठ प्रहरी नायव निरीक्षक दिपक प्रसाद बड्तौलाले जानकारी दिएका छन्।

दरखास्त फाराम २०८२ पुस २६ गतेदेखि २०८२ माघ १ गतेसम्म सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बुझाउन सकिनेछ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साधारण लेखपढ गर्न जान्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

शारीरिक मापदण्डका हकमा पुरुषको उचाइ कम्तीमा ५ फिट २ इन्च, छाती ३१–३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ । महिलाको हकमा उचाइ ५ फिट र तौल ४२ केजी हुनुपर्ने व्यवस्था गरिएको छ ।

भर्ना प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्व कर्मचारीहरू, पूर्व वन रक्षकहरू, विगतका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा काम गरेका व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

४० दिनको कार्यअवधि रहने म्यादी प्रहरीका लागि आकर्षक पारिश्रमिक र सुविधाको व्यवस्था गरिएको छ ।