प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध


काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले एकविज्ञप्ति जारी गर्दै ‘आयकर ऐन २०५८’ को व्यवस्था बमोजिम करकट्टीको विवरणलाई सरकारी प्रणालीमा आवद्ध गर्न यस्तो अनुरोध गरेको हो।

बैंकका अनुसार ग्राहकको खाताबाट काटिएको ब्याजकरको विवरण आन्तरिक राजश्व विभागको ईटीडीएस रेकर्डमा जनाउन प्यान अनिवार्य रहेको छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण आयकर प्रणालीको अनुसूची १० मा स्वचालित रूपमा मिलान हुनेछ। यसबाट ग्राहकहरूलाई करकट्टी र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने झन्झट अन्त्य हुने बैंकको विश्वास छ ।

यदि प्यान अद्यावधिक नगरेका कारण ईटीडीएस मा विवरण प्रविष्ट नभएमा र भविष्यमा कर समायोजनमा समस्या आएमा बैंक जिम्मेवार नहुने समेत विज्ञप्तिमा उल्लेख छ।

ग्राहकहरूले घरमै बसेर बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एप मा रहेको “प्यान अपडेट” विकल्पमा गएर सजिलै प्यान नम्बर प्रविष्ट गर्न सक्नेछन्। डिजिटल माध्यम प्रयोग गर्न नसक्ने ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयमा गएर निवेदन दिन सक्ने प्रबन्ध मिलाइएको छ।

बैंकले ग्राहकहरूलाई आफ्नो पछिल्लो ईमेल ठेगाना पनि अद्यावधिक गर्न भनेको छ। यसका लागि बैंकको भिडियो केवाईसीमार्फत वा मोबाइल बैंकिङ्ग एपको ‘माइ प्रोफाइल’ मा गएर ‘चेन्ज इमेल’ विकल्प छनोट गरी ईमेल परिवर्तन गर्न सकिनेछ। साथै, शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिनेछ।