ब्याज त अचाक्ली बढ्यो नि ? गभर्नर भन्छन्- राष्ट्र बैंकले तोक्न मिल्दैन, हामी अध्ययन गरिरहेका छौं



काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि बैंकहरुबीच ब्याजदर बढाउने युद्ध चलेको छ । एउटा बैंकले प्रकाशित गरेको भन्दा केही बढी दिएर अर्को बैंकले ब्याजदर प्रकाशित गरिरहेको छ ।

बैंकरबीच भएको ब्याजदर युद्धले निक्षेपकर्तालाई फाइदा पुगेको छ । तर, ऋणको ब्याज महंगो हुने भएकाले मुलुकमा लगानीको वातावरण भने बिग्रिने संभावना बढेको छ ।

राष्ट्र बैंक भनेको बैंकहरुको पनि बैंक हो । वित्तीय क्षेत्रमा स्थायित्व कायम राख्नु उसको दायित्व हो । लगानी योग्य पुँजीको अभाव र ब्याजदरका कारण वित्तीय क्षेत्रमा स्थायित्व कायम हुन नसकेको भन्दै सामाजिक सञ्जालमा राष्ट्र बैंक, अर्थमन्त्री र सरकारको आलोचना भइरहेको छ ।

ब्याजदर त अचाक्ली बढ्यो नि ? भन्ने प्रश्नमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले केहीदिन यता मात्रै ब्याज बढेकाले आफूहरुले यसलाई नजिकबाट नियालीरहेको प्रतिक्रिया दिए ।

‘ब्याज बढेको १/२ दिन त भयो नि, राष्ट्र बैंकले ब्याजदर तोक्न मिल्दैन,’ गभर्नर नेपालले क्लिकमाण्डूसँग भने,– ‘तर के गर्न सकिन्छ भनेर हामी यो विषयलाई नजिकबाट अध्ययन गरिरहेका छौं ।’

राष्ट्र बैंकले अध्ययन गरिरहेको र अवस्था हेरेर उपयुक्त निर्णय लिने उनले जानकारी दिए ।

‘यस विषयमा अहिले नै यो भन्दा बढी नबोलौं,’ उनले भने, ‘हामी हेरिरहेका छौं ’

व्यक्तिगत निक्षेपमा बैंकले जतिपनि ब्याज दिन पाउनेगरी खुल्ला गरिएपछि साढे १० प्रतिशत रहेको ब्याज २ दिनमै साढे १३ प्रतिशतसम्म पुगेको छ । र, ब्याजदर अझै पनि बढ्ने बैंकरहरु बताउँछन् ।

यसअघि पनि बैंकरहरुबीच ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धा हुँदा राष्ट्र बैंक र अर्थ मन्त्रालयले नै भद्र सहमति गरेर उपयुक्त बिन्दुमा ब्याजदर स्थायी राख्न बैंकर्स संघलाई सझाब दिएका थिए ।


पुष्प दुलाल