एकै महिनामा भारतीय सेयर बजारमा १२ हजार करोड विदेशी लगानी भित्रियो, नेपालमा कहिले ?



काठमाडौं । नेपालको सेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । बजार निरन्तर ओरालो लागेर पछिल्लो ३ वर्ष यताकै न्यून बिन्दुमा आइपुगेको छ । सरकारले भने सेयर बजारलाई त्यत्ति ध्यान दिएको छैन ।

आलोचकहरुले अर्थमन्त्री डा युवराज खतिवडाको बोलीका कारण पनि बजार नराम्ररी प्रभावित भएको बताउने गरेका छन् ।

तर भारतको सेयर बजारमा भने पछिल्लो दिनमा विदेशी लगानीको मात्रा पनि उल्लेख्य रुपमा बढेको छ । गत नोभेम्बरमा शेयर बजारमा मात्रै विदेशी लगानीको मात्रा उल्लेख्य बढेर १२ हजार २६० करोड हुन पुगेको छ । पछिल्लो १० महिना यताकै सबै भन्दा बढी विदेशी लगानी सेयर बजारमा भएको यो पहिलो पटक हो ।

विदेशी लगानी समेत सेयर बजारमा ओइरिएपछि भारतीय पूँजी बजारमा सुखद दिन सुरु भएको भन्दै खुसीयाली समेत प्रकट गरिएको छ । केन्द्रीय डिपोजटरीले दिएको पछिल्लो आँकडा अनुसार गत नोभेम्बरमा विदेशी लगानी बढेको हो । सेयर बजारमा मात्रै ६ हजार ९१३ करोड, डेट मार्केटमा मा ५ हजार ३४७ करोड लगानी भएको छ ।

सन् २०१८ को जनवरीमा मात्रै २२ हजार २४० करोड विदेशी लगानी भएको थियो । कच्चा तेलको मूल्य कम भएको र भारतीय मुद्रा समेत बलियो भएका कारण शेयर बजारमा विदेशी लगानी उल्लेख्य मात्रामा बढेको हो ।

सेक्टेम्बर र अक्टोबरमा मात्रै पूँजी बजार ६० हजार करोड बराबरको भारतीय रुपैयाँ लगानी भएको थियो । यस्तै जुलाई अगस्टमा मात्रै ७ हजार ३०० करोड लगानी भएको थियो ।

पछिल्लो एक सातामा भारतीय सेयर बजार सेसेक्समा १ हजार २१३ अंकले बढेको छ । शेयर बजारमा उछाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपालमा भने सेयर बजार नराम्ररी प्रभावित भएको छ ।


पुष्प दुलाल