हिमालयन बैंकको ४९ करोड खाने मलेसियाको ‘म्याक्स मनिट्रान्सफर’लाई नेपालमा प्रतिबन्ध



काठमाडौं। नेपालका बैंकहरुको करोडौ रकम खाएको मलेसियाको म्याक्स मनिट्रान्सफर कम्पनीलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको हो ।

म्याक्स मनिले मलेसियामा कार्यरत नेपाली कामदारले नेपाल पठाएको रेमिट्यान्स बैंकलाई भुक्तानी नदिएको हो । म्याक्सले हिमालयन बैंकसँग मिलेर नेपाली कामदारको रेमिट्यान्स नेपाल पठाउँदै आएको थियो ।

म्याक्सले मलेसियामा नेपाली कामदारसँग पैसा उठाएर यता हिमालयन बैंकलाई भुक्तानी अर्डर दिएको थियो । बैंकले नेपालमा रेमिट्यान्स भुक्तानी गरिसकेको छ । तर, अझैसम्म पनि म्याक्सले बैंकलाई पैसा दिएको छैन ।

उक्त मनि म्याक्स कम्पनीले हिमालयन बैंकको मात्रै ४९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिए ।

‘राष्ट्र बैंकले म्याक्स मनिलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाउँदै मलेसियाको केन्द्रिय बैंकलाई म्याक्सबाट उक्त रकम असूल गराइदिनका लागि पत्र लेखेको छ,’ सीइओ राणाले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले मलेसियास्थित कम्पनी म्याक्स मनिसँग कारोबार नगर्न बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुलाई परिपत्र जारी गरेको छ ।

कम्पनीले बदमाशी गर्न थालेपछि राष्ट्र बैंकले पहिले पैसा लिएर मात्र भुक्तानी गर्न नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो।

राष्ट्र बैंकको बिस्तृत अध्ययनपछि म्यक्स मनिले बदमाशी गरेको खुलेपछि कारोबार प्रतिबन्ध लगाइएको राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दए ।

‘म्याक्स मनिबाट नेपाली बैंकको डुबेको पैसा फिर्ता गर्नका लागि मलेसियाको केन्द्रिय बैंकलाई पत्राचार गरिसकेका छौं,’ ढुंगानाले भने ।

राष्ट्र बैंकले नेपाली बैंकहरुको रकम भुक्तानी नगरेसम्मका लागि म्याक्सलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको हो ।


पुष्प दुलाल