
काठमाडौं । पश्चिम एसियामा देखिएको तनावले नेपाल आउने पर्यटकलाई असर पर्न थालेपछि खाडी क्षेत्र हुँदै आउनेको विकल्प खोज्न सुरु भएको छ । नेपालमा विदेशी पर्यटक भित्र्याउने विकल्पका लागि नेपाल पर्यटन बोर्डले रि-रुटिङदेखि बजार विविधीकरणसम्मको रणनीति बनाउन थालेको छ । यसका लागि बोर्डले नेपालका विभिन्न ट्राभल एजेन्सी र सम्बन्धित अन्तर्राष्ट्रिय वायुसेवासँग समन्वय थालेको छ ।
मध्यपूर्वमा बढ्दै गएको सैन्य तनाव र त्यसले विश्व उड्डयन क्षेत्रमा पारेको प्रभावका बीच पर्यटन क्षेत्रलाई सुरक्षित राख्न बहुपक्षीय रणनीति अपनाउन खोजिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।
क्लिकमान्डुसँगको कुराकानीमा जोशीले भने, ‘युरोप र अमेरिकाबाट नेपाल आउने पर्यटकका लागि मुख्य ट्रान्जिट मानिने दुबई र दोहाको रुट प्रभावित भएपछि वैकल्पिक मार्ग खोज्नुपर्ने भएको छ । त्यसका लागि नयाँ गन्तव्यको प्रवर्द्धन र बजार विविधीकरणलाई प्राथमिकतामा राखेर काम गर्दै छौं ।’
नेपाल पर्यटन बोर्डका सीईओ जोशीले अहिलेको विश्वव्यापी परिस्थितिलाई मध्यनजर गर्दै बोर्डले पर्यटक आगमनमा कमी आउन नदिन ‘रि-रुटिङ’ र आक्रामक बजारीकरणको योजना अघि सारेको बताए ।
मध्यपूर्वको तनावका कारण पर्यटकहरूमा उत्पन्न ‘पर्ख र हेर’को मनोविज्ञानलाई चिर्न बोर्डले वैकल्पिक हवाई मार्गहरूको पहिचानसमेत गरेर सोही अनुसारको समन्वय थालेको छ । सीईओले भने, ‘पर्यटकले जहिले पनि सहज र सस्तो रुट खोज्छन् । अहिले मध्यपूर्वको रुटमा समस्या देखिएपछि हामीले इस्तानबुल (टर्की), भारत, हङकङ, चीन र दक्षिणपूर्वी एसियाका सहरहरूलाई वैकल्पिक ट्रान्जिटका रूपमा प्रवर्द्धन गरिरहेका छौं ।’
यसका लागि बोर्डले अन्तर्राष्ट्रिय टुर अपरेटरहरूलाई नेपाल आउन अन्य मार्गहरू पनि खुला र सुरक्षित रहेको जानकारी दिने कामलाई तीव्रता दिएको छ । विशेषगरी हवाई इन्धनको संकट हुन सक्ने त्रासले पर्यटकहरू हच्किएको अवस्थामा नेपालमा अहिले त्यस्तो कुनै समस्या नरहेको सन्देश पनि बोर्डले विश्वबजारमा पठाइरहेको छ ।
नेपालमा हालै सम्पन्न निर्वाचन र त्यसपछिको राजनीतिक स्थिरतालाई बोर्डले पर्यटन प्रवर्द्धनको मुख्य एजेन्डासमेत बनाएको छ । नेपालमा चुनाव सफलतापूर्वक सम्पन्न भएको छ भने अहिले यहाँ कुनै पनि बन्द-हड्ताल वा आन्दोलनको अवस्था नभएको जानकारी पनि पर्यटकहरूलाई बोर्डले दिइरहेको छ । बोर्डले मौसम अनुकूल छ र पर्यटकीय गतिविधिहरू निर्बाध रूपमा चलिरहेका छन् भन्ने सकारात्मक सूचना विश्वव्यापी रूपमा प्रवाह गरिरहेको जानकारी दिएको छ ।
बोर्डले युरोप र अमेरिकाका पर्यटकहरू मध्यपूर्वी रुटबाट प्रभावित भइरहेको अवस्थामा आफ्नो ध्यान एसियाली र छिमेकी मुलुकतर्फ मोडेको उल्लेख गरेको छ । यसका साथै बोर्डले भारत, बंगलादेश, चीन, कोरिया र जापान जस्ता देशहरूमा प्रवर्द्धनात्मक कार्यक्रमहरू बढाएको छ । विशेष गरी ‘नेपाल-आसियान टुरिजम इयर’ मार्फत दक्षिणपूर्वी एसियाली देशहरूबाट सिधै पर्यटक ल्याउने रणनीति बनाएको पनि बोर्डका सीईओ जोशीले बताए ।
सन् २०२५ मा प्राकृतिक विपत्तिका कारण अपेक्षाकृत पर्यटक बढ्न नसके पनि बोर्डले सन् २०२६ का लागि २० देखि २५ प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ । तर, यो लक्ष्य प्राप्तिका लागि बाह्य प्रयास मात्र पर्याप्त नभई आन्तरिक पूर्वाधारमा पनि सुधार हुनुपर्ने सीईओ जोशीको बुझाइ छ ।
जोशी भन्छन्, ‘निजी क्षेत्रले होटलमा अर्बौं लगानी गरिसकेको छ, तर अबको चुनौती सडक सञ्जाल र सार्वजनिक यातायातको गुणस्तर सुधार गर्नु हो । पर्यटकले गन्तव्यसम्म पुग्दा पाउने सेवा गुणस्तरीय हुनुपर्छ र हाम्रो विशिष्ट पहिचान मानिएको होमस्टेहरूलाई पनि व्यावसायिक होटलभन्दा भिन्न, मौलिक संस्कृतिको केन्द्रका रूपमा जोगाइराख्नुपर्छ ।’








प्रतिक्रिया