बैंकका सीइओले गभर्नरलाई टेरेनन्ः फेरि पनि निक्षेपभन्दा कर्जा धेरै दिए



काठमाडौं । बैंकमा फेरि निक्षेप घटेको छ । पछिल्लो साता बैंकमा २ अर्ब रुपैयाँले निक्षेप घटेको हो । नेपाला राष्ट्र बैंकका अनुसार मंसिर ७ गते बैंकहरुको कूल निक्षेप २५ खर्ब ६४ अर्ब रुपैयाँ छ । त्यसको ठीक एक साता अघि अर्थात् कात्तिक ३० गते कूल निक्षेप २५ खर्ब ६६ अर्ब रुपैयाँ थियो ।

निक्षेप नबढे पनि बैंकहरुको कर्जा विस्तार भने रोकिएको छैन । चालू आर्थिक वर्षको शुरुदेखि नै आक्रमक कर्जा विस्तारमा लागेका बैंकहरुले पछिल्लो साता पनि ५ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार मंसिर ७ गते बैंकहरुले कूल २२ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्, जबकी कात्तिक ३० गते बैंकहरुले २२ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

निक्षेप संकलन र कर्जा प्रबाहबीच असन्तुलन हुँदा बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) टाइट भएको छ । अहिले अधिकांस बैंकहरुको सीसीडी रेसियो ७८/७९ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार यस्तो रेसियो ८० प्रतिशतभन्दा माथि लान पाइँदैन । जसकारण अहिले अधिकांश बैंकहरु थप ऋण दिन सक्ने अवस्थामा छैनन् ।

बैंकरहरुले भने थप ऋण दिन सक्ने अवस्था नभएको भन्दै राष्ट्र बैंकले सीसीडीमा लचक नीति अपनाउनु पर्ने माग राख्दै आएका छन् । तर, गभर्नरले बैंकरहरुलाई सीसीडी रेसियोतिर आँखा नलगाउन भनिसकेका छन् ।

असोजपछिका ५ हप्तामा बैंकहरुले ४२ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । र, ४२ अर्ब रुपैयाँ नै ऋण दिएका छन् ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले केही दिनअघि एक कार्यक्रममा निक्षेप संकलन गर्न नसक्ने अनि खुरुखुरु मागेजति ऋण दिएको भन्दै बैंकरहरुप्रति आक्रोश व्यक्त गरेका थिए ।

निक्षेप बढाउन नसक्ने तर अन्धाधुन्ध कर्जा बढाउने यस्ता बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गर्ने चेतावनीसमेत गभर्नरले दिएका थिए ।

यद्यपि बैंकरहरुले गभर्नर नेपालको निर्देशनलाई उपेक्षा गर्दै धमाधम ऋण बढाइरहेको तथ्यांकले पुष्टि गर्छ ।


पुष्प दुलाल