कसले चलायो बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडिँदैछ भन्ने हल्ला ?



काठमाडौं । पछिल्लो हप्ता ब्यावसायिक जगतमा एउटा हल्लाले तरङ्ग मच्चायो । त्यो हो- नेपाल बैंकर्स संघले विगतमा ब्याजदरका विषयमा गरेको भद्र सहमति तोडिँदैछ ।

भद्र सहमति तोडिएपछि बढी ब्याज पाइन्छ भन्ने आशामा ठूला र संस्थागत निक्षेपकर्ताहरु पर्ख र हेरको नीति अपनाएर बसे ।

‘दुई/चार दिनमै भद्र सहमति खारेज हुँदैछ भनेर ठूलै बैंकका सीइओले भनेपछि हामी केही समय निक्षेप नराखी बसेका छौं,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले क्लिकमाण्डूसँग भने, ‘भद्र सहमति तोडियो भने बढी ब्याज पाइन्छ । २/४ दिन पछि नै बढी ब्याज पाइन्छ भने किन नपर्खने ?’

त्यस्तै, केही ठूला ब्यावसायिक घरानाहरु पनि केही दिनमै भद्र सहमति तोडिनेमा विश्वस्त छन् ।

‘तपाईं पत्याउनोस् कि ठूला बैंक भनेर गन्दा ३/४ वटामा पर्ने बैंकका सीइओहरु नै २/४ दिनमै भद्र सहमति खारेज हुन्छ र त्यसपछि बढी ब्याज दिन्छौं भन्दै मार्केटिङ गरिरहेका छन्,’ एक व्यवसायीले भने, ‘एलिट बैंकरहरुले नै भनेपछि त पत्याउनै पर्यो नि ।’

बैंकर्स संघको बुधबार बस्ने बैठकले नै विगतमा भएको भद्र सहमति खारेज गर्छ भन्नेमा ठूला निक्षेपकर्ताहरु आशाबादी थिए । तर, बुधबारको बैठकले विगतको सहमतिलाई नै निरन्तरता दिएको छ ।

अब प्रश्न उठ्छ, त्यसो भए कसले चलायो त भद्र सहमति खारेज हुँदैछ भन्ने हल्ला ? सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, ‘यसले नै चलायो भनेर त म भन्न सक्दिन । तर, केही दिनयता भद्र सहमति खारेज हुँदैछ भन्ने बजार हल्लाचाहीँ ब्यापक भएको छ ।’

२८ बैंकमध्ये ३/४ वटा बैंकका सीइओहरु भद्र सहमतिले अफ्ठ्यारो पारेको बताइरहेका छन् । उनीहरुले नै यस्तो हल्ला चलाएको हुनसक्ने दाहालको अनुमान छ ।

बैंकर्स संघका अध्यक्षसमेत रहेका एनबि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि भद्र सहमति तोडिँदैछ भन्ने हल्ला आफूले पनि सुनेको बताउँछन् ।

‘म बैंकर्स संघको अध्यक्ष, मलाई नै भद्र सहमति तोडिँदैछ भन्ने कुराको जानकारी छैन, तर म आफैं यस्तो हल्ला सुनिरहेको छु,’ ढुंगानाले भने ।

भद्र सहमति आफूहरुले मनखुसी गरेको नभई राष्ट्र बैंक र अर्थ मन्त्रालयको आग्रहमा गरिएको उनले प्रष्ट पारे ।

‘राष्ट्र बैंक र अर्थ मन्त्रालयले नै ब्याजदर स्थिर होस् भनेर भद्र सहमति गर्न आग्रह गरेपछि बैंकर्स संघले भद्र सहमति गरेको हो,’ ढुंगानाले भने ।

केही बैंकहरुले आफ्नो स्वार्थ्यका लागि यस्तो हल्ला चलाएको हुनसक्ने ढुंगानाको भनाई छ ।

‘केही साथीहरुले आफ्नो स्वार्थ्यका लागि हल्ला चलाइरहनु भएको छ, तपाईहरुले हल्लालाई पत्याइदिनु भएन,’ उले भने ।


पुष्प दुलाल