सन् २०१९ को मार्चदेखि भारतका १ लाख १३ हजार एटिएम मेशिन बन्द हुनसक्ने, यस्तो छ कारण



काठमाडौं । भारतमा नयाँ नियम कार्यान्वयनमा ल्याएका कारण देशभर रहेका २ लाख ३८ हजार एटिएम मेशिनमध्ये १ लाख १३ हजार एटिएम बन्द हुन सक्ने देखिएको छ । शहरी तथा ग्रामीण क्षेत्रमा समेत त्यसको सोझो असर पर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको आर्थिक राजधानी मुम्बईको एटिएम उद्योगसँगा जोडिएको संगठन सीएमटीएमआईले चेतावनी दिदै भनेको छ– ‘देशभरका ५० प्रतिशत बढी एटिएम सन् २०१९ को मार्चदेखि बन्द हुनसक्छ ।’

संगठनले एटिएम सञ्चालनको नियम बदलिएको बताएको छ । उसले भनेको छ– ‘पूरानो व्यवस्थाअनुसार एटिएम सञ्चालन गर्न अब सकिने छैन । कारण ह्याकरहरु पनि उत्तिकै सक्रिय रहेका छन् भने सुरक्षाको चुनौती पनि उत्तिकै थपिएको छ ।’

नयाँ नियमअनुसार एटिएम सञ्चालकहरुको कूल सम्पत्ति कमसेकम १०० करोड भारतीय मुद्रा हुनु जरुरी छ । यस्तै सर्भिस प्रोभाइडरको ३०० वटा क्यास राख्ने सामग्री जरुरी पर्दछ । हरेक स्थानमा २ जना बन्दुकधारी सुरक्षाकर्मीको आवश्यकता पर्नेछ । पैसा रहेको स्थानमा सिसिटिभी क्यामरा र जिपिएस ट्रयाकिङ प्रणाली अनिवार्य रहेको छ ।

यस्तै सबै एटिएमका सफ्टवेयर विन्डोज एक्सपीको साटो विन्डोज १० मा अपग्रेड गर्नु जरुरी छ ।

सीएमटीएमआईले दावी गरेको छ- त्यसका लागि मात्रै ३५ करोड भारतीय मुद्रा आवश्यक पर्दछ । सबै नियम लागू गर्नका लागि एक एटीएमका लागि हरेक महिना १ लाख ५० हजार भारतीय मुद्रा खर्च लाग्छ ।

एटिएम बन्द हुँदा त्यस उद्योग एवम् प्रणालीसँग जोडिएका धेरैको रोजगारी गुम्न सक्छ । त्यसको असर सरकारको वित्तीय एकिकरणको प्रयासमा समेत असर पर्नेछ । संगठनले मानेको छ कि एटिएम बन्द हुँदा शहरी तथा ग्रामीण क्षेत्रका लाखौं नागरिक प्रभावित हुनेछन् ।

सीएमटीएमआईका निर्देशक बालासुब्रमण्यमले भनेका छन् कि देशभर करिब २ लाख ३८ हजार मध्ये १ लाख १३ हजार मेशिन बन्द हुन सक्छ ।

उनले त्यसको प्रमुख असर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनधन योजनामा सहभागी भएका लाखौं नागरिकलाई पर्नेछ । ती नागरिकले आफ्नो पैसा सोही एटिएमबाट निकाल्ने गर्दथे । मेशिन बन्द भएपछि बैंक तथा वित्तीय संस्थामा नोटबन्दीको समयमा जस्तै लामा लामा लाइन देखिनेछन् ।

भारतको केन्द्रीय बैंकले एटिएम सम्बन्धी नियम परिवर्तन गरेको छ । त्यसको प्रमुख कारण एटिएमलाई एउटै स्ट्याण्डर्डमा राख्नु हो । त्यसको मतलब एटिएमको सफ्टवेयर तथा हार्डवेयर पनि परिवर्तन गर्नु हो ।

केन्द्रीय बैंक तथा गृह मन्त्रालयले बनाएको नयाँ नियम लागू गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले भने सरकारको पछिल्लो नियम मान्न आनकानी गर्दै आएका छन् । जसका कारण समसया समाधान हुन सकेन भने आगामी जनवरीदेखि भारतभर एटिएम मेशिन बन्द हुनेछ ।


पुष्प दुलाल