ब्यापारमा जमेका सुरज बैद्य सिमेन्ट उद्योगमा, चीनको हुवाजिनसँग मिलेर १६ अर्ब लगानी गर्ने



काठमाडौं । व्यापारको क्षेत्रमा जमेको ब्यावसायिक घराना बैद्यज अर्गनाइजेशन उद्योगमा प्रवेश गरेको छ । चीनको हुवाजिन कम्पनीसँगको १६ अर्ब रुपैयाँ बराबरको संयुक्त लगानीमा धादिङमा सिमेन्ट उद्योग खोल्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी सुरज बैद्यले चीनको ठूलो कम्पनी हुवाजिनलाई नेपाल भित्र्याएका छन् । हालैमात्र लगानी बोर्ड र हुवाजिनबीच  दैनिक ३ हजार मेट्रिकटन क्षमताको उद्योग खोल्न लगानी सम्झौता भएको छ ।

‘हुवाजिनलाई नेपालमा लगानी गर्नका लागि अनुमति दिएका छौं,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले क्लिकमाण्डूसँग भने, ‘हुवाजिनसँग यसअघि नै प्रारम्भिक लगानी सम्झौता भएको थियो । सम्झौतामा केही संशोधन गर्न बाँकी थियो, जुन केही दिनअघि मात्रै भएको छ । हुवाजिको नेपाली पार्टनर व्यवसायी सुरज बैद्य हुन् ।’

‘हामी उद्योगमा बैदेशिक लगानी भित्र्याउन खोजिरहेका थियौं, हुवाजिन जस्तो रेपुटेड कम्पनी भेटेपछि सिमेन्ट उद्योगमा हात हालेका हौं,’ वैद्यले भने, ‘हुवाजिनबाट हामीले धेरै कुरा सिक्ने छौं ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण ५ पुस २०७२ मै लगानी सम्झौता भएको भए पनि खानीको भने टुंगो लागिसकेको थिएन ।

संसोधन गरिएको लगानी सम्झौतमा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुजाजिङका प्रतिनिधि छु जांगले हस्ताक्षर गरेका छन् । हुवाजिनले उक्त खानी सरकारसँग ६० करोड रुपैयाँमा किनेको हो । 

हुवाजिन र बैद्यज अर्गनाइजेशनले १४० मिलियन अमेरिकी डलर अर्थात् अहिलेको बजार भाउमा १६ अर्ब नेपाली रुपैयाँमा सिमेन्ट उद्योग खोल्न बैद्यज अर्गनाइजेशनका प्रमुख सुरज बैद्यले जानकारी दिए ।

उक्त उद्योगमा हुवाजिनको ८० प्रतिशत र बैद्यज अर्गनाइजेशनको २० प्रतिशत लगानी रहने उनले जानकारी दिए ।

‘बैद्यज अर्गनाइजेशन पहिलोपटक सिमेन्ट उद्योगमा प्रवेश गरेको हो,’ उनले भने, ‘अन्य निर्माणसँग सम्बन्धित उद्योगमा पनि प्रवेश गर्दैछौं ।’

फलाम खानी खोजिरहेको बैद्यले जानकारी दिए । कृषिमूलक उद्योगलाई आफूले विषेश प्राथमिकतामा राखेको उनको भनाई थियो ।

‘हामीले कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेका छौं, केही गर्छौं,’ वैद्यले भने ।

चीनमा हुवाजिनका ८० वटा प्लान्ट छन् । त्यसैगरी अन्य ७ देशबाट हुवाजिनले सिमेन्ट उत्पादन गरिरहेको छ ।

काजकिस्तान, उर्किस्तान, मलेसिया, लाओसलगायतका देशहरुमा हुवाजिनले लगानी गरेको छ । पछिल्लोपटक नेपालमा लगानी गर्नका लागि सम्झौता गरेको हो ।

‘हामी उद्योगमा बैदेशिक लगानी भित्र्याउन खोजिरहेका थियौं, हुवाजिन जस्तो रेपुटेड कम्पनी भेटेपछि सिमेन्ट उद्योगमा हात हालेका हौं,’ वैद्यले भने, ‘हुवाजिनबाट हामीले धेरै कुरा सिक्ने छौं ।’

बैद्यज अर्गनाइजेसन नेपालका लागि टाेयटा गाडीको अाधिकारिक बिक्रेता हाे । याे समुुुहको झापामा चिया बगान पनि छ ।

पछिल्लो समय ठूला ब्यावसायिक घरानाहरु धमाधम सिमेन्ट उद्योगमा लगानी गरिरहेका छन् । यसअघि शिबम् ग्रुपले चीनको होङ्सीलाई भित्र्याएर नवलपराशीबाट सिमेन्ट उत्पादन शुरु गरिसकेको छ । होङ्सी नेपालमा हालसमम्मकै ठूलो प्रत्यक्ष बैदेशिक लगानी हो ।

शिबम् ग्रुपको ३० प्रतिशत र होङ्सीको ७० प्रतिशत लगानी रहेको होङ्सी शिबम् सिमेन्ट उद्योगको कूल लगानी ३६ अर्ब रुपैयाँ हो ।

केही वर्षअघि मात्रै चौधरी ग्रुपले पनि नवलपरासीबाट सीजी सिमेन्ट उत्पादन शुरु गरिसकेको छ । त्यस्तै, मुरारका अर्गनाइजेशनले पनि भैरवहाबाट अर्घाखाँची सिमेन्ट उत्पादन गरिरहेको छ ।

अर्को ठूलो ब्यावसायिक घराना शंकर ग्रुपले जगदम्बा सिमेन्ट उत्पादन गरिरहेको छ ।

ठूला व्यावसायिक घरानाले लगानी बढाएसँगै पछिलला वर्षहरुमा सिमेन्ट आयात ह्वात्तै घटेको छ । होङ्सी र हुवाजिन जस्ता ठूला कम्पनीले भने छिमेकी देश भारतमा बजार देखेर नेपालमा लगानी गरेको बताइन्छ ।


पुष्प दुलाल