नेकपाको सचिवालय बैठक बस्दै, सांगठनिक विवादबारे छलफल हुने



काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी भित्रका २१ केन्द्रीय सदस्यले अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट नेकपाले पार्टी हाइकमान्डका रुपमा चिनिने सचिवालयको बैठक बोलाएको हो ।

आज अपराह्न ४ बजे बस्ने बैठकमा नेकपाको पछिल्लो सांगठनिक विवाददेखि समसामयिक राजनीतिक विषयमा छलफल हुने एक नेताले बताएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बनेपनि सांगठनिक अलमलको अवस्था छ । पार्टी केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन भने तल्ला कमिटीको एकतापनि अन्योलमा छ ।

हिजोमात्रै माधवकुमार नेपाल पक्षीय २१ केन्द्रीय सदस्यले एकता अन्योलमा परेको भन्दै केन्द्रीय समिति बैठक बोलाउन ज्ञापनपत्रमार्फत् अध्यक्षद्वय केपी ओली र प्रचण्डसँग माग गरेका थिए । आज बस्ने नेकपा सचिवालय बैठकमा यी लगायतका सांगठनिक विषयमा छलफल हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु