महिला भएरपनि काठको मुर्ती बनाउँछिन् पूर्णलक्ष्मी, जसले यही काम गरेर घर बनाइन्



काठमाडौं । काठको मुर्ती बनाउने कलाकर्मीहरुमा महिलाका संख्या त्यतिधेरै छैन । त्यही थोरै महिला मध्येमा पर्छिन् कलाकार पूर्णलक्ष्मी शाक्य । सानै उमेरदेखि अरुले बनाएको हेर्दाहेर्दै मुर्ती बनाउन सिकेकी पूर्णलक्ष्मीले यो काम गर्न थालेको झण्डै २२ वर्ष हुन लागेको रहेछ ।

१५ वर्षको उमेरदेखि मुर्ती बनाउन थालेकी पूर्णलक्ष्मीले घरमै बुबाले बनाएको देखेर योे कला सिकेकी हुन् ।

उनका हजुरबाहरु पनि काठको काम गर्ने सिकर्मी थिए, पछि उनका बुबाले काठको मुर्ती बनाए र त्यही बुबाले मुर्ती बनाएको हेर्दाहेर्दै उनीपनि एक कुशल कलाकर्मीका रुपमा परिचित भएकी छन् ।

शुरु शुरुमा रहरै रहरमा उनले काठका मुर्ती बनाइन्, उनी भन्छिन्–अहिले यसैलाई व्यवसायिक रुपमा अघि बढाएको छु । आज यही काम गरेर भैंसेपाटीमा उनले घर समेत बनाएको बताइन् ।

सानो छँदा आफूलाई यो काम गर्न नदिएको उनले सुनाइन् । उनले भनिन्–महिलाहरुलाई काठको काम गर्न हुँदैन भन्थे । अहिलेसम्मपनि काठको मुर्ती बनाउने पेशामा महिलाहरु कमै संलग्न भएको उनी बताउँछिन् ।

सानोमा काठको मुर्ती बनाउँदा बुबाआमाले पढाई बिग्रिन्छ, छोरी मान्छे भएर घरको काम गर्ने हो, यस्तो काम गर्ने हैन भनेको उनलाई आज जस्तै लाग्छ ।

बुबा नभएको बेला लुकीलुकी काम गर्ने गरेकी उनी अहिले एक उदाहरणीय पात्र बन्न सफल भएकी छन् । २०५९ सालमा विवाह बन्दनमा बाँधिएकी उनी यही कामलाई निरन्तरता दिइरहेकी छन् । अहिले परिवारबाट सहयोग पाएकी उनले आफ्नो श्रीमानसँगै मिलेर काठको मुर्ती बनाउने काम गर्दै आएकी छिन् ।

श्रीमान् र श्रीमती नै मिलेर काठको मुर्ती बनाउने गरेका शाक्य जोडीले यसअघि आफ्नै पसल समेत राखेका थिए । तर, विडम्बना २०७२ सालको भूकम्पले पसल भएको घर भत्काएपछि यी दम्पती आफ्नै घरमा मुर्ती बनाउने गर्छन् । मुर्ती बनाएर बुङ्मतीमा रहेको आफ्ना बुबाको पसलमा बिक्री वितरणका लागि दिने गरेको उनले बताइन् ।

६ इन्चको मुर्ती बनाउन ३ देखि ४ दिनसम्म लाग्ने उनी बताउँछिन् । उनले कपुर, हल्लो र चापका काठहरुको मुर्ती बनाउने गरेकी छन् ।

काठका मुर्ती पर्यटकको उच्च आकर्षणमा पर्ने गरेकोले भूकम्प अघि मासिक ४०÷५० हजार रुपैयाँ कमाउने गरेकी उनी पछिल्लो समय भने मुर्तीको व्यापार कम भएको बताउँछिन् । पर्यटक आउने क्रम भूकम्पपछि घट्दै गएको र पछिल्लो समय उनी मासिक ३०÷३५ हजार रुपैयाँ आम्दानी हुने गरेको बताउँछिन् । एक छोरा र एक छोरीलाई राम्रै विद्यालयमा पढाएकी छिन् ।


क्लिकमान्डु