चिरिबाबुको महानगरमा बन्नेभयो १३ अर्ब लगानीमा फ्लाइओभर, अध्ययन सुरु



काठमाडौं । काठमाडौं र ललितपुर जोड्ने थापाथली पुलमा लामो समयसम्म सवारी जाम हुने तथा आवत जावतमा समेत समस्या भएकाले त्यसलाई निराकण गर्ने लक्ष्यका साथ फ्लाई ओभर निर्माण हुने भएको छ ।

फ्लाई ओभरको अध्ययन कार्य समेत सुरु गरिएको छ । ललितपुर महानगरपालिकाले फ्लाई ओभर निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको मेयर चिरिबाबु महर्जनले जानकारी दिए ।

पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ । अध्ययनपछि पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

अध्ययनका लागि महानगरपालिकाले ९८ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ । जापानी सहयोग नियोग (जाइका) ले पुलका लागि चासो देखाएको छ । जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसँग सहकार्य गर्ने भन्ने अध्ययन पछि टुंगो लाग्ने बताइएको छ ।

विभिन्न दातृ राष्ट्रले यसमा चासो देखाएका छन् । यस्तै काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरदेखि थापाथली र थापाथलीदेखि माइतीघरसम्म पुल निर्माणका लागि अध्ययन थालेको छ ।

महानगरपालिकाले पुल्चोक देखि कुपन्डोलसम्म डेढ किलोमिटर लामोे फ्लाई ओभर निर्माण गर्ने जनाएको छ ।

डेढ किलोमिटर लामो फ्लाई ओभरलाई कुपन्डोलभन्दा अघि लैजाने वा नलैजाने बिषयमा सम्बन्धित निकायसँग पनि छलफल जारी रहेको छ ।

गत वर्षको जेठ २२ को महानगर बोर्ड बैठकले फ्लाई ओभर निर्माण अध्ययनको औपचारिक निर्णय गरेपनि काम भने रोकिएको थियो । तर पछिल्लो पटक महानगरले त्यसलाई तिव्रता दिएको छ ।

सरकारले यसअघि गरेको अध्ययनमा प्रतिकिलोमिटर ९ अर्ब रुपैयाँ लागत लागने अनुमान गरेको थियो । जाइकाको अध्ययनअनुसार नै उक्त लागत निर्धारण गरिएको हो । त्रिपुरेश्वरलाई केन्द्र बनाएर फलाई ओभर निर्माण हुनेछ ।


पुष्प दुलाल