नगद लाभांस दिने बैंकलाई लगानीकर्ताले देखाए रातो झण्डा !



काठमाडौं । स्ट्याडर्ड चार्टर्ड बैंकले आइतबार सेयरधनीलाई साढे १७ प्रतिशत नगद लाभांसको घोषणा गर्यो । शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट लगानीकर्तालाई साढे १७ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।

बोनस सेयरको आशामा बसेका लगानीकर्ताहरुलाई बैंक सञ्चालक समितिको नगद लाभांस दिने निर्णयले निरुत्साहित गर्यो । र, त्यसको असर सीधै बैंकको सेयर मूल्यमा देखियो ।

नेपाल स्टक एक्सचेञ्जमा आइतबार भएको सेयर कारोबारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य घटेको छ । प्रतिकित्ता ९९० रुपैयाँ रहेको बैंकको सेयर मूल्य घटेर दिउसो ६२१ रुपैयाँमा झरेको छ । यो दिउसो २ बजेसम्मको तथ्यांक हो । नेप्सेमा ३ बजेसम्म सेयर कारोबार हुन्छ ।

बिहान बजार खुल्दा ९९० रुपैयाँ मूल्य रहेको यो बैंकको मूल्य त्यहाँभन्दा १ रुपैयाँ पनि बढेन । बरु दिनभरजसो घट्यो मात्रै ।

चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको यो बैंकबाट लगानीकर्ताले बोनस सेयरको आशा गरेका थिए । पुँजी बढाउने उदेश्यले गत वर्ष यो बैंकले १०० प्रतिशत बोनस सेयर दिएको थियो ।

पुँजी पुगिसकेकाले यो वर्ष साढे १७ प्रतिशत नगद लाभांस मात्रै दिने घोषणा गरेको हो । पुँजीलाई आधार मान्दा यो बैंकले १ अर्ब ४० रोड रुपैयाँ नगद बाँड्दैछ । गत वर्ष बैंकले २ अर्ब ७ करोड नाफा कमाएको थियो ।

गत कात्तिक १५ गते सानिमा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत नगद लाभांस दिने घोषणा गर्यो । सानिमा बैंक चालु आर्थिक वर्षमा सबैभन्दा पहिला लाभांस घोषणा गर्ने वाणिज्य बैंक थियो ।

तर, सानिमा बैंकले लाभांस घोषणा गरेकै दिन सो बैंकको सेयर मूल्य पनि घट्यो । सानिमाको सेयर ८ रुपैयाँले घटेर ३२६ रुपैयाँमा झरेको थियो ।

बैंकले गत वर्ष भने पुँजी पुर्याउनका लागि सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै, चालू आर्थिक वर्षमा लाभांस घोषणा गर्ने दोस्रो वाणिज्य बैंक हो एभरेष्ट बैंक । एभरेष्टले कात्तिक १६ गते २० प्रतिशत नगद लाभांसको घोषणा गरेको थियो ।

एभरेष्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँले घट्यो ।

गत वर्ष एभरेष्ट बैंक बैंकले ३३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांस दिएको थियो ।

सेयर बजारमा बैंकिङ त्यसमा पनि वाणिज्य बैंक समूहको डोमिनेट छ । वाणिज्य बैंकहरुले धमाधम लाभांस घोषणा गर्दै जाने र नगद लाभांस घोषणा गर्ने बैंकको सेयर मूल्य घट्दै जाने हो भने बजार अझै घट्ने अनुमन लगानउ सकिन्छ ।

किनभने देशमा २८ वटा वाािण्ज्य बैंक छन्, ती मध्ये अहिलेसम्म लाभांस घोषणा गर्ने सानिमा, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड राम्रै लाभांस दिने बैंकको सूचिमा पर्छन् । लाभांस घोषणासँगै यी बैंकको सेयर मूल्य त घट्यो भने अरु बैंकको मूल्य नघट्ला भन्न सकिन्न ।

मूल्य घटेका कारण आइतबारको कारोबारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सूचक रातो रंगले पोतिएको छ । नेप्सेमा रातो रङले गिरावटको संकेत गर्छ ।


पुष्प दुलाल